• १२ मंसिर २०८१, बुधबार

टरिगाउँमा उडान थपियो

blog

लीलाधर वली 

घोराही, पुस ४ गते । दाङको टरिगाउँ विमानस्थलमा छ दशकपछि इन्धन डिपो सञ्चालनमा ल्याई हवाई उडान सेवा थप गरिएको छ । प्रत्येक सोमबार र बुधबार गरी दुई दिन मात्रै हुने उडान सेवा अब सातामा पाँच दिन हुने भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–१२, टरिगाउँ विमानस्थलमा इन्धन डिपो सञ्चालनपछि पाँच दिन हवाई सेवा भएको विमानस्थलका प्रमुख गणेश अर्यालले जानकारी दिनुभएको छ । बिहान ९ देखि ११ बजेसम्म विमान उड्ने गरेको छ ।

विमानका लागि ‘रिफ्युलिङ’को सुविधा थपिएपछि १३ जना यात्रु बोक्ने हवाई जहाजले अब १७ जनासम्म यात्रु बोक्न सक्ने जनाइएको छ । यसअघि ‘रिफ्युलिङ’ सुविधाको अभावमा विमानले नै इन्धन बोकेर ल्याउनुपर्ने बाध्यता हटेको छ । विमानस्थल प्रमुख अर्यालका अनुसार अब इन्धन बोक्ने सिटमा पनि यात्रुलाई राख्न मिल्ने भएको छ । पछिल्लो समय एयरपोर्टको नयाँ टावर निर्माणको काम पनि धमाधम भइरहेको छ । यसका लागि एक करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । 

त्यस्तै डिटेल सर्भेको रिपोर्टपछि धावनमार्ग विस्तार गर्न थप बजेट आवश्यक पर्ने र त्यसका लागि सङ्घीय सरकारसँग पहल भइरहेको पनि उहाँले बताउनुभयो । टरिगाउँ विमानस्थलको धावन मार्ग तत्कालीन पर्यटनमन्त्री लोकेन्द्र विष्ट मगरको पालामा कालेपत्रे गरिएको थियो । 

नियमित हवाई उडानले दाङ–काठमाडौँको दूरीलाई नजिक बनाइदिएको छ । सर्वसाधारणलाई हवाईजहाज चढ्न नेपालगञ्ज वा भैरहवा जानुपर्ने बाध्यता हटेको छ । हाल दाङदेखि काठमाडौँ न्यूनतम् भाडा आठ हजार ८१० कायम गरिएको छ भने अधिकतम १२ हजार ६६५ सम्म रहेको छ ।