• १६ भदौ २०८१, आइतबार

साब्लाखुमा सामूहिक प्याज खेती

blog

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, पुस ४ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४, साब्लाखुका किसानले सामूहिक प्याज खेती सुरु गरेका छन्। साब्लाखुमा रहेको नुमाफुङ कृषक समूहमा आबद्ध किसानले पहिलो पटक सामूहिक प्याज खेती सुरु गरेका हुन्। आत्मनिर्भर बन्ने प्रयासस्वरूप उक्त समूहमा आबद्ध किसानले सामूहिक प्याज खेती सुरु गरेको जनाएका छन्। सिदिङ्वा गाउँपालिकाको प्राविधिक सहयोगमा पहिलो पटक सामूहिक खेती सुरु गरिएको हो। 

सामूहिक प्याज खेतीका लागि सिदिङ्वा गाउँपालिकाले प्याजका बिरुवा निःशुल्क उपलब्ध गराएको छ। प्याजको खेती प्रविधिबारे आवश्यक ज्ञानका साथै बिरुवा निःशुल्क उपलब्ध गराएको सिदिङ्वा गाउँपालिका, कृषि तथा पशु शाखा प्रमुख विकास थेबेले जानकारी दिनुभयो। थेबेका अनुसार पहिलो पटक ३० हजार बिरुवा शाखाले उपलब्ध गराएको र किसानले करिब १० रोपनी क्षेत्रफल बराबरको जग्गामा प्याज रोपेका छन्। 

त्यस्तै कृषि ज्ञान केन्द्र ताप्लेजुङको मल्चिङ प्रदर्शनी कार्यक्रमअन्तर्गत पनि सिदिङ्वाका किसानले प्याज खेती लगाएका छन्। सिदिङ्वा गाउँपालिकाको समन्वयमा कृषि ज्ञान केन्द्रको उक्त कार्यक्रमअन्तर्गत किसानले मल्चिङ विधिबाट प्याज खेती लगाएका पनि कृषि तथा पशु शाखा प्रमुख थेबेले बताउनुभयो। मल्चिङ विधिमार्फत किसानले पाँच हजार प्याजको बिरुवा रोपेका छन्। 

यस विधिको खेतीका लागि आवश्यक पर्ने प्लास्टिकलगायतको सामग्री कृषि ज्ञान केन्द्रले उपलब्ध गराएको छ। स्थानीय किसानलाई कृषि कर्मतर्फ प्रेरित गर्न र आत्मनिर्भर बनाउनमा सहयोग गर्ने उद्देश्यले करिब आठ लाख रुपियाँको योजनामार्फत गाउँपालिकाले प्याजलगायतका वस्तुको नर्सरी उत्पादन गरिरहेको छ।