• १६ भदौ २०८१, आइतबार

निःशुल्क क्रायोथेरापी

blog

दमक समाचारदाता 

दमक, पुस ४ गते । महिलाको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको सुरुवाती उपचार दमकका दुई अस्पतालमा निःशुल्क हुने भएको छ। दमक नगरपालिकाको पहलमा दमकस्थित सामुदायिक आम्दा अस्पताल र सरकार मातहतको दमक अस्पतालमा यसको उपचार निःशुल्क हुने भएको हो।

दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराईका अनुसार नगरपालिकाले यी दुई अस्पताललाई निःशुल्क रूपमा क्रायोथेरापीका लागि प्रयोग गरिने मोबाइल थर्मोकोबिलेटर मेसिन उपलब्ध गराएको हो। केही समयअघि स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य व्यवस्थापन महाशाखाले यो नगरपालिकालाई उपलब्ध गराएको थियो।

विशेषज्ञहरूका अनुसार प्रारम्भिक चरणको क्यान्सर पत्ता लागिसकेपछि लिक्विड नाइट्रोजन, कार्बन डाइअक्साइड स्नो वा डाइमेथिलेथर प्रोपेन जस्ता ग्यासको प्रयोगद्वारा माइनस ११० सेल्सियससम्म चिसो बनाइन्छ। बिरामीलाई त्यसमा बढीमा तीन मिनेट राखिन्छ। जसले गर्दा छालाको माथिल्लो सतह केही समयका लागि जम्न सक्छ। रक्तबाहिनी फुलेर धेरै अक्सिजन लिन थाल्छ। संवेदनशील कोषिका स्पाइनल कर्डलाई संवेदनशील बनाउन थाल्छ। जसले गर्दा जोर्नी, मांसपेशीया तथा स्नायु तन्त्रका रिसेप्टर्समा बदलाव हुन थाल्छ। यसले मस्तिष्क बढी क्रियाशील भएर शरीरलाई चिसो हुनबाट बचाउन ऊर्जा दिने वा दुखाइ कम गर्ने रसायन एन्डोर्फिन निर्माण गर्न थाल्छ, जसले गर्दा शरीरमा रक्तप्रवाह बढेर तनाव तथा दुखाइमा कमी आउन थाल्छ।

यसले क्यान्सर बढाउने ‘टिस्यु’लाई नै नष्ट गरिदिन्छ। यसले गर्दा यो क्यान्सर फैलिने सम्भावना न्यून हुने गर्छ। यो उपचार पद्धति शल्यक्रियाभन्दा कम पीडादायक हुन्छ। भिज्युअल इन्सपेक्सन विथ एसिटिक एसिड (भीआईए) विधिबाट पाठेघरको क्यान्सर पत्ता लगाउन सकिन्छ।

भीआईए पाठेघरको मुखको क्यान्सर निरीक्षण गर्ने विधि हो। यो क्यान्सर रोग पत्ता लगाउने प्रभावकारी विधि हो। यसबाट कम खर्च, कम समय तथा सजिलो तरिकाद्वारा तरल पदार्थको प्रयोगले पाठेघरको मुखको क्यान्सर निरीक्षण गर्न सकिन्छ। यसलाई ‘प्याप स्मेयर’ विधिको वैकल्पिक विधिका रूपमा लिइन्छ। 

दमक नगरपालिकाका जनस्वास्थ्य निरीक्षक बद्री बरालका अनुसार स्वास्थ्य केन्द्र तथा अस्पतालहरूमा पाठेघरको क्यान्सर सहजै रूपमा पत्ता लगाउन सकिने भएकाले क्यान्सरको लक्षण देखा परेकालाई भीआईए परीक्षणपछि क्रायोथेरापी गर्न सकिन्छ। उहाँका अनुसार क्रायोथेरापी गरेपछि पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ।