• १६ भदौ २०८१, आइतबार

‘गाउँ–गाउँमा सिंहदरबार’ वडामै योजना सम्झौता

blog

राजकुमार भट्टराई 

खोटाङ, पुस ४ गते । खोटाङका दुई स्थानीय तहले वडामै पुगेर योजना तथा कार्यक्रम सम्झौता गरेका छन्। पालिकासम्म आउँदा नागरिकलाई सास्ती भएको भन्दै वडामै पुगेर दिप्रुङ चुइचुम्मा र खोटेहाङ गाउँपालिकाले योजना तथा कार्यक्रम सम्झौता गरेका हुन्। चालू आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन भएका योजना तथा कार्यक्रम सञ्चालनका लागि दिप्रुङ चुइचुम्मा गाउँपालिकाले मङ्सिर २६ गतेबाट वडामा पुगेर सम्झौता गर्न सुरु गरेको थियो। पुस २ गतेसम्ममा पालिकाभित्रका सातवटै वडामा योजना सम्झौता सम्पन्न भएको पालिका अध्यक्ष लोकेन्द्र राईले जानकारी दिनुभयो। 

“पहिले गाउँ विकास समिति हुँदा गाविसको कार्यालयमा सम्झौता हुन्थ्यो, पालिका कार्यालयमा पुग्नुपर्दा नागरिकलाई सास्ती भयो। त्यसैले ‘गाउँ–गाउँमा सिंहदरबार’ भन्ने नाराको अनुभूति दिलाउन हामीले वडामै योजना तथा कार्यक्रम सम्झौता गरेका हौँ,” अध्यक्ष राईले भन्नुभयो। योजना सम्झौतासँगै वडामै उपभोक्ता समितिलाई प्रशिक्षण पनि दिएको गाउँपालिकाले योजना सम्पन्नपश्चात् फरफारक पनि वडामै गर्ने तयारी गरिएको अध्यक्ष राईले बताउनुभयो। 

यस्तै नौवटा वडा रहेको खोटेहाङ गाउँपालिकाले पनि सबै वडामा पुगेर योजना तथा कार्यक्रम सम्झौता गर्न सुरु गरेको छ। हालसम्म तीन वडामा पुगेर सम्झौता गरिसकिएको पालिका अध्यक्ष उदिम राईले बताउनुभयो। 

“हाम्रो गाउँपालिका भौगोलिक रूपमा विकट भएकाले पालिका केन्द्रसम्म सबै नागरिकलाई आउन समयसँगै रकमको पनि खर्च धेरै हुन्छ। त्यसैले नागरिकको सास्तीलाई मध्यनजर गर्दै वडामै पुगेर योजना सम्झौता, उपभोक्ता समितिलाई प्रशिक्षणलगायतका कार्यक्रम गरिरहेका छौँ,” अध्यक्ष राईले भन्नुभयो।