कपिलवस्तु समाचारदाता
कपिलवस्तु, पुस ३ गते । बाल विवाहमुक्त क्षेत्रमा बाल विवाह गर्नेको लहर बढेपछि बुद्धभूमि नगरपालिकाका बालबालिकाले ‘बाल विवाह न्यूनीकरण अभ्यास’ सञ्चालन गरेका छन्।
नगरपालिकाको वडा नं. ३ का बालबालिकाले जनप्रतिनिधि र सङ्घ संस्थासँगको समन्वय तथा सहकार्यमा एक वर्षीय योजना तयार गरेका छन्। रनगाई आशा सञ्जालले मागी विवाह गर्दासमेत बाल विवाह भएकोमा आपत्ति प्रकट गरेको छ।
सो सञ्जालका अध्यक्ष अञ्जली थारूले सामाजिक सञ्जालको प्रयोगले कलिलो उमेरमा प्रेम बसेर बाल विवाह हुने गरेको बताउनुभयो। धेरै बाल विवाह प्रेमका कारणले हुने गरेको र घरपरिवारले स्वीकार नगर्दा भागेर जाने प्रचलन रहेको भनाइ उहाँको छ। संस्थाको सक्रियताले बाल क्लबको पदाधिकारीकै बाल विवाह रोक्न सफल भएको उहाँले बताउनुभयो।
सो वडामा पछिल्लो एक वर्षमा भएका ८२ वटा विवाहमध्ये ४६ जनाको बाल विवाह भएको पाइएको छ। तीमध्ये ८० प्रतिशत बढी सामाजिक सञ्जालको प्रयोगका कारण प्रेम विवाह रहेका छन्। वडाध्यक्ष गोविन्दप्रसाद आचार्यका अनुसार वडामा बाल विवाह भएको थाहा पाएपछि जन्तीसमेत फर्काएको बताउनुभयो। किशोर किशोरीबीचको प्रेम नै मुख्य समस्या देखिएको वडाध्यक्ष आचार्यको भनाइ रहेको थियो।
बाल विवाह रोक्न तथा सामाजिक सञ्जालको प्रयोग निरुत्साही गर्न सामाजिक सञ्जालबाट सचेतना मूलक सामग्री र विद्यालयको प्राथना समयमा सन्देश दिने खालका कार्यक्रम सञ्चालन गरिएको बाल क्लबले जनाएको छ।