दैलेख समाचारदाता
दैलेख, पुस ३ गते । प्रतिनिधि सभामा दुई क्षेत्र रहेको दैलेखबाट समानुपातिकमा चार र कर्णाली प्रदेश सभामा चार सदस्य निर्वाचित हुनुभएको छ । प्रदेश र सङ्घीय संसद्मा समानुपातिकसहित ११ पालिका रहेको दैलेख जिल्लाबाट १० जना जनप्रतिनिधिले प्रतिनिधित्व गर्नुहुने भएको छ। निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित अम्मरबहादुर थापा भगवतीमाई गाउँपालिका–१ का बासिन्दा हुनुहुन्छ। प्रदेश सभा सदस्यमा निर्वाचित कृष्णकुमार बीसी गुराँस गाउँपालिका–६ र पूर्णबहादुर खत्री डुँगेश्वर गाउँपालिका–१ का बासिन्दा हुनुहुन्छ।
प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले)बाट समानुपातिक सांसद सूर्यकुमारी श्रेष्ठ नारायण नगरपालिका–१ का बासिन्दा हुनुहुन्छ। यस्तै प्रतिनिधि सभाको निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित दिक्पालकुमार शाही र प्रदेश सभा सदस्यमा समानुपातिकबाट निर्वाचित इन्द्राकुमारी शाही चामुण्डाविन्द्रासैनी नगरपालिकाका बासिन्दा हुनुहुन्छ।
आठबिस नगरपालिका–१, सात्तलाकी गमता विक र ठाटीकाँध गाउँपालिका–२ का विनोदकुमार शाह नेकपा (एमाले)बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ। दुल्लु नगरपालिका–८ का घनश्याम भण्डारी नेपाली कांग्रेसबाट प्रदेश सभा सदस्यमा तथा भैरवी गाउँपालिका–१ की सीता राना प्रतिनिधि सभा सदस्यमा समानुपातिकबाट निर्वाचित हुनुभएको छ।