• १२ मंसिर २०८१, बुधबार

घोराहीमा फोहोर व्यवस्थापन

blog

लीलाधर वली 

घोराही, पुस ३ गते । घोराही उपमहानगरपालिका–१६, करौतीडाँडास्थित डम्पिङ साइटलाई व्यवस्थित गरिएको छ। गत वैशाखमा सम्पन्न स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको सक्रियतामा स्थानीयवासीलाई कुनै असर नपुग्ने गरी डम्पिङ साइटलाई व्यवस्थित पारिएको हो। 

त्यस्तै घोराही बजार क्षेत्र र उपमहानगरपालिकाभित्रको बस्तीबाट फोहोर सङ्कलन र व्यवस्थापन कार्य प्रभावकारी रूपमा सञ्चालन हुँदै आएको छ। विगतका वर्षहरूमा बजार क्षेत्रमा यत्रतत्र रूपमा फोहोर छरिएको हुन्थ्यो, व्यवस्थापन कसले गर्ने भन्ने हुन्थ्यो,” घोराही–१५ निवासी ईश्वरी न्यौपाने भन्नुहुन्छ, हिजोआज त्यो अवस्था छैन। 

जथाभावी फोहोर थुपार्दा दुर्गन्धले स्थानीय आन्दोलन गर्न बाध्य थिए। जसले गर्दा कति पटक फोहोर फाल्न पुगेका गाडीलाई फर्किनुपरेको थियो। उहाँ विगत सम्झँदै भन्नुहुन्छ, अहिले त्यो समस्या छैन। डम्पिङ साइटमा फोहोरको गन्ध आउँदैन।

करौँतीडाँडास्थित डम्पिङ साइट नजिकमा बसोबास गर्ने स्थानीयलाई फोहोर फाल्ने ठाउँले असर नगरेको स्थानीय सरिता चौधरी बताउनुहुन्छ। “डम्पिङ साइटमा बनाइएको फूलको बगैँचामा गाईबस्तुका लागि घाँस काट्ने ठाउँसमेत बनेको छ,” उहाँले भन्नुभयो, “फोहोर व्यवस्थापन गर्ने ठाउँ भए पनि व्यवस्थित र दुर्गन्धरहित गरिएको छ।” 

घोराहीमा फोहोर व्यवस्थापनका लागि २०७४ सालदेखि हालसम्म आठ करोड ५९ लाख ८० हजार बजेट खर्च भइसकेको उपमहानगरपालिकाका सूचना अधिकारी भीमबहादुर चौधरी बताउनुहुन्छ। 

फोहोरबाट मोहोर कमाउने योजना अनुरूप उचित तरिकाले व्यवस्थापन गर्न गल्ने र नगल्ने फोहोर छुट्याउने र फोहोरबाट पनि आम्दानी गर्न योजना बनाएर काम गरिएको उहाँले बताउनुभयो। “पहिले नगरवासीलाई गल्ने र नगल्ने फोहोर छुट्याएर गाडीमा फाल्न बानी लगाउन धेरै समस्या भयो,” सूचना अधिकारी चौधरीले भन्नुभयो, “तर बिस्तारै बानी पर्न थालेपछि अहिले सहज भएको छ।” 

घोराहीमा फोहोर उठाउनका लागि चारवटा कम्प्याक्टर, एउटा सक्सन ट्याङ्क र अर्काे एउटा पावरटेलर प्रयोग गरिँदै आएको छ। ती फोहोर उठाउने गाडीहरू बिहान छ बजे फोहोरमैला व्यवस्थापनसम्बन्धी सचेतनाका गीत बजाउँदै फोहोर उठाउन जाने गरेका छन्। 

पहिले खाल्डो खनेर फोहोर गाड्ने गरिएको थियो। तर, अहिले सबै फोहोरलाई प्रयोगमा ल्याउन थालिएको छ। उपमहानगरले गल्ने फोहोरलाई बायो ग्यास उद्योगमा पठाउने र नगल्नेलाई खरिद गरी पुनः प्रयोगमा ल्याउने गरेको छ। हाल घोराहीमा दैनिक १५ देखि २० टनसम्म फोहोर उठ्ने गरेको उपमहानगरपालिकाले जनाएको छ।