• १३ जेठ २०८१, आइतबार

अक्सिजन बिक्री गर्दै मेथिनकोट अस्पताल

blog

बनेपा समाचारदाता 

काभ्रेपलाञ्चोक, पुस ३ गते । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकाको भकुण्डेस्थित मेथिनकोट प्रादेशिक अस्पतालले अस्पतालमा उत्पादन भएर बढी भएको अक्सिजन बिक्री गर्दै आएको छ । अस्पतालको प्रयोजनका लागि उत्पादित अक्सिजन अस्पतालको आम्दानीका लागि सस्तो मूल्यमा स्थानीयलाई बिक्री गर्दै आएको हो । 

कोरोना भाइरस महामारीको दोस्रो चरणमा बागमती प्रदेश सरकारको सहयोगमा अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको थियो । “प्रदेश सरकारको सहयोगमा अस्पतालमा कोरोनाको दोस्रो चरणमा अक्सिजन प्लान्ट जडान गरेका हौँ, अस्पतालले प्रयोग गरेर बढी भएको अक्सिजन स्थानीय नागरिकहरूलाई सस्तो मूल्यमा बिक्री गर्न थालेका छौँ,” मेथिनकोट अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद खनाल बताउनुभयो । उहाँले अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टबाट दैनिक सानो, ठूलो गरी ५० वटा सिलिन्डर अक्सिजन उत्पादन गर्न सकिने बताउनुभयो । अध्यक्ष खनालले अस्पतालमा प्रयोग गरेर बढी भएको अक्सिजन नगरभित्रका मेडिकल, स्थानीय बिरामी र विभिन्न उद्योगहरूलाई बिक्री गर्दै आएको बताउनुभयो । 

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट तथा जिल्ला स्वास्थ्य प्रमुख डा. पुरुषोत्तमराज सेढार्इंले गत असोज महिनाबाट केही स्थानीय बिरामी, मेडिकल र ग्रिल तथा क्रसर उद्योगलाई अक्सिजन बिक्री सुरु गरिएको बताउनुभयो । 

“मेसिनरी सामान नचलाए बिग्रने डर, अस्पतालका लागि आवश्यक पर्ने अक्सिजन उत्पादन गर्दा पनि बिजुलीको रकम भुक्तानी गर्न समस्या हुने भएकाले अस्पताललाई केही रकम आम्दानी होस् भनेर अक्सिजन बिक्री सुरु गरेका हौँ,” समितिका अध्यक्ष खनालले भन्नुभयो । उहाँले अस्पतालमा दैनिक ४५ केजीका पाँचदेखि छवटा सिलिन्डर अक्सिजन खपत हुने बताउनुभयो । अस्पतालले सिलिन्डरको क्षमता हेरेर स्थानीय मेडिकल, बिरामी, उद्योगहरूलाई दुई सय, पाँच सय र आठ सय रुपियाँमा अक्सिजन बिक्री गर्दै आएको छ । तत्कालका लागि अक्सिजन बिक्रीबाट धेरै आम्दानीभन्दा पनि नागरिकको जीवन रक्षा तथा स्थानीय उद्योगका लागि आवश्यक पर्ने अक्सिजन बिक्री गरिएको भन्दै अक्सिजन प्लान्टलाई दिगो रूपमा चलाउन सकिएको खण्डमा अस्पतालको आम्दानीसमेत बढ्ने समितिले जनाएको छ ।