सर्लाही समाचारदाता
सर्लाही, पुस ३ गते । सर्लाहीको उत्तरी चुरेभेगमा उत्पादन भएका अनाजले बजार पाउन थालेपछि किसान खुसी भएका छन्।
भौगोलिक रूपमा विकट रहेको चुरेभेगका बस्तीबाट खोलाको बगर हुँदै यातायात सञ्चालन भएसँगै त्यहाँका किसानले उत्पादन गरेको अन्नले बजार पाउन थालेको हो। चुरेभेगमा पर्ने नारायण खोला, शिर कालिन्जोर, भित्रीखोला, पीपलदमारलगायत क्षेत्रका किसानले मकै, कोदो, कुर्थी, बोडीलगायतका अनाज बजार ल्याएर बेचिरहेका छन्।
ती ठाउँबाट जिल्लाकै प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको लालबन्दी बजारसम्म बस, बोलेरो र ट्याक्टर सञ्चालन भएपछि किसानलाई सहज भएको हो। वर्षाको बेला खोलामा बाढी आउँदा यातायातका साधन ठप्प हुँदा कृषि उपजले बजार नपाए पनि हिउँद याममा भने नियमित गाडी चल्न थालेपछि गाउँघरमा उत्पादन भएका अनाज बजार ल्याएर बेच्न पाएको लालबन्दी नगरपालिका–१५, शिर कालिन्जोरकी पार्वती तामाङले बताउनुभयो।
“गाडी चल्दा जे अनाज फले पनि आफूले खाएर उब्रेको बजार ल्याएर बेच्न सहज हुन्छ, त्यही पैसाले व्यवहार पनि चल्छ,” तामाङले भन्नुभयो। चुरेभेगका किसानले उत्पादन गरेर ल्याएको अन्नबाली लालबन्दी बजारमा रहेका गल्ला भण्डारले खरिद गर्ने गरेका छन्। किसानले समूहमै बजार आएर आफूले फलाएको अनाज बिक्री गरी नुन, मसलासहित आफूलाई आवश्यक पर्ने सरसामग्री खरिद गरेर लाने गरेका छन्।
लालबन्दी बजारस्थित जयकृष्ण गल्ला भण्डारका सञ्चालक फगुनी रायले चुरेभेगमा यातायात सञ्चालन हुन थालेसँगै किसानले त्यस भेगमा उत्पादन भएको अनाज धमाधम बिक्रीका लागि ल्याइरहेका जानकारी दिनुभयो। “चुरेभेगमा गाडी चल्न थालेपछि डाँडापाखामा फलेका कोदो, कुर्थीजस्ता अनाज किसानले बेच्न ल्याइरहेका छन्,” व्यापारी रायले भन्नुभयो, “त्यहाँ फलेका अन्नबाली अर्गानिक हुन्छन्।” चुरेभेगमा उत्पादन भएको अन्नबाली गाउँघरमै पनि बिक्री हुने गरेको छ।