• ८ पुस २०८१, सोमबार

हुलाकी सडक निर्माण गर्न दबाब

blog

सर्लाही समाचारदाता

सर्लाही, पुस ३ गते । सर्लाहीस्थित पूर्व–पश्चिम हुलाकी सडकमा विवाद भएका ठाउँमा विवाद मिलाउनका लागि सम्बन्धित पालिकालाई एक हप्ता समय दिइएको छ। 

सदरमुकाम मलङ्गवामा बसेको सर्वपक्षीय बैठकले ‘साइड क्लियर’ नहुँदा काम रोकिएका ठाउँमा समस्या समाधानका लागि पालिकालाई जिम्मेवारी दिने निर्णय गरेको हो। त्यसको नेतृत्व पालिकाका प्रमुखले गर्ने भनी निर्णयमा उल्लेख छ। 

हुलाकी सडकको केही ठाउँमा ‘साइड क्लियर’ नहुँदा काम गर्न नसकेको ठेकेदारले बताउँदै आएका छन्। ठेकेदारका प्रतिनिधिसहित बसेको बैठकले हुलाकी सडक निर्माणलाई अब कुनै पक्षबाट बहानाबाजी नगरी अगाडि बढाउने निर्णय गरेको हो। 

स्थानीय बासिन्दाले भने यस्ता छलफल र निर्णय पटक–पटक भए पनि काम नभएको गुनासो गर्दै आइरहेका छन्। हुलाकी सडकमा अहिले कुहिरीमण्डल जस्तै धुलो उड्दा जनजीवन प्रभावित छ। 

धुलो सहन नसकेर सर्वसाधारणले ठाउँ–ठाउँमा चक्काजाम गर्न थालेपछि सरोकारवालाहरू सडक कालोपत्रे गराउन तात्तिएका हुन्। छलफलले ‘साइड क्लियर’ का लागि एक साताको समय दिएको र एक साताभित्र पनि कुनै प्रगति हुन नसके जिल्ला समन्वय समितिका प्रमुखले सुरक्षा निकायका प्रमुख, सडक आयोजनाका प्रमुखसहित नेतृत्व गरी सडकको मापदण्ड कायम गराएर कामअघि बढाउने निर्णय भएको बैठकमा सहभागी सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले बताउनुभयो। 

बैठकमा सर्लाही क्षेत्र नं. २ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री महिन्द्र राय यादव, २ (ख)का नवनिर्वाचित प्रदेश सभा सदस्य कौशलकिशोर राय, जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंह, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलगायत अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो। ठेकेदारले खुरुखुरु काम गरे पनि अब चिसो सुरु भइसकेकाले तत्काल सडक कालोपत्रेको काम पूरा गर्न भने आवश्यक तापक्रम पुग्ने अवस्था छैन्। 

आयोजना प्रमुख कृष्णकुमार महतोले ‘साइड क्लियर’ भए तत्काल एक तहमात्रै भए पनि अलकत्रा हालेर धुलो नउड्ने बनाउन सकिने बताउनुभएको छ। उहाँले माघ १५ पछि कालेपत्रेको पूरा काम गर्न सकिने बताउनुभएको छ। सर्लाहीमा पूर्व–पश्चिम हुलाकी सडक झन्डै ४१ किलोमिटर छ। विशेष गरी सदरमुकाम मलङ्गवादेखि पूर्व क्षेत्रमा बढी समस्या छ। आयोजना कार्यालयले पर्सा गाउँपालिकालाई त ‘साइड क्लियर’ गराइदिन भनी पाँच पटक पत्र नै काटिसकेको छ।