• २० असोज २०८१, आइतबार

किसान सस्तोमा उखु बेच्न बाध्य

blog

यादवराज पुरी

रौतहट, पुस ३ गते । रौतहटको श्रीराम सुगर मिल बन्द भएपछि रौतहटका उखु उत्पादक किसानले कम मूल्यमै सखर उद्योगलाई उखु बिक्री गर्न थालेका छन् ।

रौतहटको अर्को बाबा बैजुनाथ सुगर मिलले क्रसिङ सुरु नगरेका कारण पनि किसान सखर उद्योगलाई उखु बेच्न बाध्य भएका हुन् । गत वर्ष सरकारले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५९० रुपियाँ तोकेको थियो । यस वर्ष मूल्य तोक्न ढिला भएको छ । किसानले सखर उद्योगलाई प्रतिक्विन्टल चार सय रुपियाँमा उखु बेचेका छन् । 

“यस जिल्लामा एउटा चिनी मिल बन्द छ भने भएको अर्को मिलले उखु खरिद गर्न सुरु नै गरेको छैन । यस्तो अवस्थामा उत्पादित उखु सखर मिललाई बिक्री गर्नु किसानको बाध्यता हो । उखुबाली हटाई मुसुरो, गहुँलगायतका हिउँदेबाली लगाउन आतुर भएका किसानले सस्तैमा भए पनि सखर उद्योगलाई उखु बिक्री गर्न थालेका छन्,” जिल्ला उखु उत्पादक सङ्घका अध्यक्ष अशोक यादवले भन्नुभयो ।

सिँचाइ अभावमा अन्य बाली उत्पादन नहुने भएपछि बर्सेनि उखु खेती गर्दै आउनुभएका गढीमाई नगरपालिका हथिऔलका किसान जयदेव दासले अब उखु खेतीबाट फाइदा लिन सकिने अवस्था नरहेको बताउनुभयो । 

सखर उद्योगी पनि सखरबाट खासै फाइदा नहुने बताउँछन् । रौतहटको गढीमाई नगरपालिकामा करिब एक दर्जन सखर उद्योग सञ्चालनमा छन् । सखरको मागबमोजिम उखुको मूल्य निर्धारण हुने सखर व्यवसायी रामेश्वर दासले बताउनुभयो । उहाँका अनुसार अहिले उखुको मूल्य प्रतिक्विन्टल चार सयदेखि साढे चार सय रुपियाँ रहेको छ । 

१२ क्विन्टल उखु पेल्दा एक क्विन्टल सखर उत्पादन हुने अर्का सखर उत्पादक व्यवसायी रामप्रवेश दासले बताउनुभयो । उत्पादित सखरमध्ये कालो सखरको मूल्य प्रतिक्विन्टल पाँच हजार र सेतो सखरको मूल्य प्रतिक्विन्टल छ हजार पाँच सय रुपियाँ रहेको उहाँले जानकारी दिनुभयो । 

भारतबाट अवैध रूपमा भित्रिने सखरका कारण नेपाली सखर उद्योग धराशायी बन्दै गएकाले किसान र उद्योगी दुवैलाई मर्का परेको बताउनुहुँदै उहाँले भारतीय सखरको मूल्य कम हुँदा नेपाली सखरको बिक्री वितरण प्रभावित बनेको गुनासो गर्नुभयो ।