• १२ मंसिर २०८१, बुधबार

निम्नआय भएका बिरामीलाई साढे दुई करोड रुपियाँ सहयोग

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, पुस २ गते । म्याग्दीमा रहेको सामाजिक संस्था ओमकुमारी शान्ति कोषले जिल्लाभित्रका निम्नआयस्तर भएका २७९ जना बिरामीको उपचारका लागि साढे दुई करोड रुपियाँभन्दा बढी रकम सहायता उपलब्ध गराएको छ ।

हिमाली जिल्ला म्याग्दीको बेनीमा रहेको सो संस्थाले स्थापनाकालदेखि हालसम्म म्याग्दीभित्रका २७९ जना निम्नआयस्तर भएका बिरामीको उपचारमा कुल २ करोड ५४ लाख १९ हजार ६४ रुपियाँ ८६ पैसा उपलब्ध गराएको हो । 

संस्थाको आठौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनका अवसरमा संस्थाका अध्यक्ष राजेश शाक्यले ओमकुमारी शान्ति कोषले आफ्नो कोषमा रहेको रकम एवम् बिरामीको उपचार अभियानमार्फत सङ्कलन गरेर सो रकम उपलब्ध गराएको बताउनुभयो । शाक्यले भन्नुभयो, “हालसम्म संस्थाले आफ्नो कोषबाट ४८ लाख ५७ हजार ५३१ रुपियाँ र बिरामी बचाउ अभियानमार्फत दाताबाट सङ्कलन गरेर २ करोड ५ लाख ६१ हजार ५३३ रुपियाँ ८६ पैसा सहयोग गरेको छ ।”

आर्थिक अभावले गर्दा स्वाथ्योपचार गर्न नसक्ने अवस्थाका नागरिकको उपचार गर्ने हेतुले ‘दिन जान्यो बाँच्न जान्यो’ मूल नाराका साथ स्थापना भएको सामाजिक संस्था हो ओमकुमारी शान्ति कोष । हाइपोप्लाष्टिक एनिमिया रोगबाट ग्रसित म्याग्दीको बेनी नगरपालिका –४ की ओमकुमारी पुन (शान्ति) को उपचार गर्ने तथा उहाँलाई बचाउने हेतुले सुरु भएको शान्ति बचाउ अभियान पछि गएर ओमकुमारी शान्ति कोषको रुपमा जिल्ला प्रशासन कार्यालय म्याग्दीमा दर्ता भएर अगाडी बढेको संस्थाका अध्यक्ष राजेश शाक्यको भनाइ छ । 

शाक्यका अनुसार बोनम्यारो प्रत्यारोपण सफल नभए पछि २०७१ असार १८ गते ओमकुमारीको निधन भएको थियो । त्यस बखत शान्ति बचाउ अभियानमा सङ्कलन भएको रकमलाई संस्थागत रुपमा बचत गर्ने र गरिब बिरामीको उपचारमा खर्चिने उद्देश्यसहित २०७१ असोज २९ गते ओमकुमारी शान्ति कोष जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको थियो ।

शनिबार भएको अधिवेशनबाट हरिकृष्ण गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । कोषको प्रथम उपाध्यक्षमा खमबहादुर थापा, द्वितीय उपाध्यक्ष लोकबहादुर पुन, महासचिव विनय श्रेष्ठ, कोषाध्यक्ष सन्दीप खत्री, सचिव दीपक श्रेष्ठ र सहकोषाध्यक्षमा डिलकुमारी पुर्जा सर्वसम्मत रुपमा निर्वाचित हुनुभयो । 

त्यस्तै, सदस्यहरुमा सान्तोष गौतम, कृष्णबहादुर जिसी, टकसरा राना, नन्दकुमार पाईजा, सचिन शाक्य, मीनाकुमारी राम्जाली, कमल खत्री र नेत्रराज सुवेदी चयन हुनुभएको निर्वाचन समितिका प्रमुख दिलीप पुनले बताउनुभयो ।