• ११ मंसिर २०८१, मङ्गलबार

भेरी नदी किनारमा आधुनिक सहर बनाइने

blog

आधुनिक सहर बनाइने भेरी नदी किनार उपत्यका । तस्बिर: नवीन सुवेदी

नवीन सुवेदी

सुर्खेत, पुस २ गते । पूर्वी सुर्खेतका गुर्भाकोट, लेकबेशी र भेरीगंगा नगरलाई नमुना आधुनिक सहर बनाइने भएको छ । भेरी नदी किनारमा आधुनिक सहर (स्मार्ट सिटी) बनाइने भएको हो । 

सहरी विकास तथा भवन डिभिजन कार्यालयअन्तर्गतको सङ्घीय आयोजना कार्यान्वयन एकाइले भेरी नदी किनारमा स्मार्ट सिटी निर्माणका लागि ‘भेरीगंगा उपत्यका नमुनाको आधुनिक सहर’ को काम सुरु गरेको हो । आर्थिक वर्ष २०७३÷७४ बाट सुरु गर्ने भनिएको उक्त आयोजना हालसम्म सुरु हुन सकेको थिएन । सहरी विकास तथा भवन डिभिजन कार्यालय अन्तर्गतको सङ्घीय आयोजना कार्यान्वयन एकाइले यो वर्ष देखी काम सुरु गरेको छ । 

आयोजना कार्यालयमा प्रमुख अमरबहादुर थापाले भेरी किनारमा भूकम्प प्रतिरोधक आधुनिक सहर निर्माण प्रक्रिया सुरु भएको बताउनुभयो । उहाँले आधुनिक सहर निर्माणका लागि दुई, पाँच, १० र १५ बर्से योजना बनाइने बताउनुभयो ।  थापाले जनशक्ति पूर्ति हुने बित्तिकै आधुनिक सहर निर्माणको काम अघि बढ्ने जानकारी दिनुभयो । 

उहाँले घोरेटादेखि घाट गाउँसम्मको ११५ किलोमिटर भेरी किनारमा आधुनिक सहर निर्माण हुने भए पनि पहिलो चरणमा भेरीगंगा, गुर्भाकोट र लेकबेसी नगरपालिकालाई समावेश गरेर आधुनिक सहर निर्माण कार्य सुरु गरिने जानकारी दिनुभयो ।  पुरै काम सम्पन्न गर्न झन्डै २२ अर्ब हाराहारी बजेट खर्च हुने उहाँले बताउनुभयो । स्थानीय तह, प्रदेश सरकार, सङ्घीय सरकार मातहतका निकायका साथै दातृ निकायसमेतको आर्थिक सहयोगमा भेरी किनारमा सुन्दर सहर बनाउने योजना रहेको जनाइएको छ । भेरी किनारमा आधुनिक सहर निर्माणको सुरुवात २०७३ सालमा नेपाली काँग्रेसका उपसभापतिसमेत रहनुभएका त्यस क्षेत्रका सांसद पूर्णबहादुर खड्काले गर्नुभएको थियो । 

आधुनिक सहरअन्तर्गत मेहलकुनामा सिटी हल, गुमीमा बहुउद्देश्यीय हल, बोटे चौर र छिन्चुमा आधुनिक बसपार्क लगायतका संरचना निर्माण हुनेछन् । हालसम्म सिटी हलको मात्रै निर्माण पूरा भएको छ । घोरेटादेखि पश्चिम सुर्खेतको कर्णाली र भेरीको दोभान घाट गाउँसम्मलाई जोडेर आधुनिक सहर निर्माण सम्पन्न हुने बताइएको छ । आधुनिक सहर निर्माणका लागि पूर्व सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ । 

स्मार्ट सिटी निर्माणका लागि ‘कृषि, पर्यटन र व्यापारको विस्तार, भेरीगंगा उपत्यका नमुनाको आधुनिक सहर निर्माणको आधार’ दीर्घकालीन सोच तय गरिएको छ । पूर्व सम्भाव्यता अध्ययन प्रतिवेदनमा भेरी किनारमा सहरीकरणसँगै कृषि, व्यापार, पर्यटन, उद्योग कारखानाको सम्भाव्यता औँल्याएको छ । कुन क्षेत्रमा के–के सम्भावना छन् र त्यसलाई कसरी लागू गर्ने भन्ने विषय पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले पाँच वर्षसम्म अलपत्र परेको नयाँ सहर योजना सुरु हुन लागेको भन्दै यहाँका जनता खुसी भएको बताउनुभयो । 

आधुनिक सहरलाई मूर्तरूप दिनकै लागि भेडावारिदेखि राम घाटसम्म करिब १५ किलोमिटर दूरीमा सात वटा पक्की पुल रहने भएका छन् । राम घाट, चिप्ले र कल्याणमा पुल निर्माण कार्य भइरहेको छ । यस्तै स्मार्ट सिटीअन्तर्गत पर्ने छिन्चु–जाजरकोट सडक खण्डको छिन्चुदेखि सिमघाटसम्म फोर लेन सडक निर्माण सुरु गरिएको छ।