धीरेन्द्रप्रसाद साह
जनकपुरधाम, पुस २ गते । मधेश प्रदेश सभामा यस पटक थप तीनवटा राजनीतिक दलको प्रतिनिधित्व कायम भएको छ। यससँगै प्रदेशको नयाँ सभामा १० वटा राजनीतिक दलको प्रतिनिधित्व हुने भएको छ।
निर्वाचन परिणामको आधारमा निर्वाचन आयोगले मधेश प्रदेश सभामा १० वटा राजनीतिक दलको प्रतिनिधित्व कायम गरेको हो। २०७४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि गठित प्रदेश सभामा सातवटा राजनीतिक दलको मात्र प्रतिनिधित्व थियो। अहिले प्रदेश सभामा जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टी थप भएको निर्वाचन आयोगले जनाएको छ।
प्रदेश सभामा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को प्रतिनिधित्व भएको छ। नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल सङ्घीय समाजवादी र नागरिक उन्मुक्ति पार्टी गरी १० वटा राजनीतिक दलको प्रतिनिधित्व कायम भएको निर्वाचन आयोगले जनाएको छ।
प्रत्यक्ष र समानुपातिकसहित प्रदेश सभामा एमालेले २३, कांग्रेसले २२, जसपाले १६, जनमत पार्टीले १३, लोसपाले नौ सिट जितेका छन्। नेकपा (माओवादी केन्द्र)ले आठ, नेकपा (एकीकृत समाजवादी)ले सात, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक, नेपाल सङ्घीय समाजवादीले एक र नागरिक उन्मुक्ति पार्टीले एक सिट जितेको छ। प्रत्यक्षमा छ जना सदस्य स्वतन्त्र उम्मेदवारले पनि जितेको छन्।
२०७४ को निर्वाचनमा जनता समाजवादी पार्टी, नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी), नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेपाल सङ्घीय समाजवादी पार्टी गरी सातवटा राजनीतिक दलको प्रतिनिधत्व रहेको थियो। त्यस निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी जसपा ३९, कांग्रेस १९, लोसपा १६, नेकपा (एस) १३, एमाले आठ, माओवादी केन्द्र आठ र नेपाल सङ्घीय समाजवादी पार्टी एक सिट जितेको थियो।
प्रदेश सभाको पहिलो निर्वाचनमा यस प्रदेशमा पहिलो दल बनेको जसपा यसपालि प्रदेश सभामा तेस्रो दल बनेको छ भने पाँचौँ दल बनेको एमाले यसपालि पहिलो दल बनेको छ।
यसपालि मुख्य रूपमा एमाले र कांग्रेसको अगुवाइमा दुई गठबन्धन चुनावी प्रतिस्पर्धामा रहेको थिए। एमाले–जसपा गठबन्धन र सत्ता गठबन्धनमा कांग्रेस, माओवादी, लोसपा, नेकपा (एस) थियो। गठबन्धनले जितेको सिटको हिसाबले सत्ता गठबन्धन पहिलो र बलियो अवस्थामा छ।