• २३ असार २०८१, आइतबार

राष्ट्रिय मुद्दाका विषयमा दलबीच सहमति आवश्यक : महासचिव गुरुङ

blog

नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङ । फाइल तस्बिर

काठमाडौं, पुस १ गते। नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले राजनीतिक स्वार्थलाई त्यागेर राष्ट्रिय मुद्दाको विषयमा दलबीच सम्झौता र सहमति आवश्यक रहेको बताउनुभएको छ। 

सञ्चार डबलीद्वारा शुक्रबार आयोजित हुम्ला जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यलाई बधाई तथा शुभकामना कार्यक्रममा उहाँले नयाँ दलको आगमनसँगै अरु दलका लागि चुनौती खडा भएकाले सबै दलले गम्भीरतापूर्वक सोच्न जरुरी रहेको बताउनुभयो। उहाँले राष्ट्रिय मुद्दाको विषयमा सम्झौता र सहमति गरी एकताबद्ध हुन आवश्यक रहेको उल्लेख गर्नुभयो। 

महासचिव गुरुङले हुम्ला जिल्लाको समग्र आर्थिक समुन्नतिका लागि कृषि, पशुपालन, जडीबुटीको सम्भावना उच्च रहेकाले पूर्वाधारको विकासमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो। 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य छिरिङ डम्डुल लामा (भोटे)ले दुर्गम जिल्ला हुम्लामा लुकेका पर्यटकीय गन्तव्यलाई पहिचान गरी पशुपालन, जडीबुटीलगायत जिल्लाको समग्र विकासका लागि जिम्मेवारी बहन गर्नेमा प्रतिबद्धता व्यक्त गर्नुभयो। रासस