राजेन्द्रप्रसाद पनेरु
कञ्चनपुर, फागुन २९ गते । बढ्दो गर्मीसँगै कञ्चनपुरका वन क्षेत्रमा डढेलो लाग्ने जोखिम पनि बढ्न थालेको छ । पतझरको समय सुरु भएसँगै वनमा पात झर्ने र नयाँ पालुवा पलाउने क्रम चलिरहेकाले सुक्खा वातावरणका कारण सानो आगोको झिल्कोले समेत ठूलो डढेलोको रूप लिने खतरा बढेको छ ।
यस्तो संवेदनशील अवस्थामा पनि डढेलो नियन्त्रणका जिल्लामा प्रभावकारी पूर्वतयारीका कार्यक्रम पर्याप्त रूपमा सञ्चालन हुनसकेका छैनन् । चुरे फेदीका वन र लालझाडी–मोहना संरक्षण क्षेत्र आसपासका क्षेत्रमा डढेलोको जोखिम उच्च देखिएको छ । उक्त क्षेत्रमा रहेका सामुदायिक वनमा आगलागी नियन्त्रणका लागि आवश्यक पूर्वतयारी तथा सचेतनामूलक गतिविधि पर्याप्त नभएको सामुदायिक वन समन्वय समिति ९सिएफसिसी० कञ्चनपुरका अध्यक्ष महेशदत्त जोशीले बताउनुभयो ।
उहाँका अनुसार पछिल्लो समय निर्वाचनको माहोलमा सबैको ध्यान केन्द्रित हुँदा वन संरक्षणको विषय ओझेलमा परेको छ । “वन क्षेत्रमा आगलागी रोक्न आवश्यक पूर्वतयारी गर्नुपर्ने हो, तर त्यसतर्फ सरकारी तथा गैरसरकारी निकायको ध्यान खासै गएको देखिँदैन”, उहाँले भन्नुभयो ।
अध्यक्ष जोशीका अनुसार वातावरण अत्यन्त सुक्खा हुँदै गएको छ र लामो समयदेखि पानी नपरेकाले डढेलोको सम्भावना झनै बढेको छ । “हावा सुक्खा छ, तापक्रम बढ्दै गएको छ, यस्तो अवस्थामा सानो आगोको झिल्कोले पनि पूरै वन क्षेत्र खरानी बनाउन सक्छ”, उहाँले भन्नुभयो, “यसतर्फ सरोकारवालाहरूको ध्यान जानुपर्ने हो तर हालसम्म कुनै पनि निकायले चासो दिएको पाइएको छैन ।” जलवायु परिवर्तनको प्रत्यक्ष असर पनि वनमा देखिएको छ ।
वन क्षेत्रमा डढेलो लागे त्यसको प्रत्यक्ष असर जैविक विविधतामा पर्ने सीता सामुदायिक वनका अध्यक्ष पुनाराम चौधरीले बताउनुभयो । डढेलोका कारण वन्यजन्तुको प्राकृतिक बासस्थान नष्ट हुनेमात्र नभई घिस्रेर हिँड्ने सरीसृप वर्गका जीवजन्तु ठूलो मात्रामा नष्ट हुने खतरा रहेको उहाँले उल्लेख गर्नुभयो ।
“वनमा डढेलो लागेपछि ठूलो आकारका जनावर भाग्न सक्छन्, तर साना जीवजन्तु र सरीसृपहरू आगोबाट बच्न सक्दैनन्”, उहाँले भन्नुभयो । यसका साथै लाखौँ रूपैयाँ मूल्यबराबरका काठ, बहुमूल्य जडीबुटी तथा वनसम्पदा जलेर नष्ट हुने जोखिम पनि उत्तिकै रहेको उहाँले उल्लेख गर्नुभयो । यसै चुनौतीलाई मध्यजनगर गरी फायरलाइन सरसफाइको कार्यमा जोड दिइएको उहाँको भनाइ छ ।
यस जोखिमलाई ध्यानमा राख्दै केही सामुदायिक वनहरूले अग्निपथ (फायर लाइन) सरसफाइ तथा वनभित्र थुप्रिएका सुक्खा पातपतिङ्गर हटाउने कार्यमा जोड दिन थालेका छन् । तर सीमित स्रोतसाधनका कारण यस्ता गतिविधि सबै वन क्षेत्रमा प्रभावकारी रूपमा सञ्चालन हुनसकेका छैनन् । लालझाडीदेखि चुरे क्षेत्र वन्यजन्तुको आवतजावतका लागि अत्यन्त महत्त्वपूर्ण करिडोर मानिन्छ ।
उहाँका अनुसार यस्तो जोखिमपूर्ण अवस्थामा अग्नि नियन्त्रण दललाई सक्रिय अवस्थामा राख्नुपर्ने भए पनि त्यस्तो व्यवस्था प्रभावकारी रूपमा हुनसकेको छैन । “सूचना प्रणाली पनि चुस्तदुरुस्त बनाउनुपर्ने हो, तर त्यो पनि पर्याप्त रूपमा सक्रिय छैन”, उहाँले भन्नुभयो ।
लालझाडी–मोहना संरक्षण क्षेत्रमा मात्रै ९४ वटा सामुदायिक वन छन् । डिभिजन वन कार्यालयले भने डढेलो न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालनको तयारी भइरहेको जनाएको छ । कार्यालयका डिभिजनल वन अधिकृत लक्ष्मीराज जोशीले वन क्षेत्रमा आगलागीका घटना कम गर्न सामुदायिक वनका पदाधिकारी र उपभोक्तालाई सचेत गराउने कार्य गरिएको बताउनुभयो ।
“सामुदायिक वनका पदाधिकारीलाई अग्निपथ ९फाइर लाइन० सफा गर्ने, वनमा थुप्रिएका सुक्खा पातपतिङ्गर हटाउनेजस्ता कार्य गर्न मौखिक र पत्राचारमार्फत जानकारी दिएका छौँ”, उहाँले भन्नुभयो । डढेलोबाट हुने जोखिमबारे जनचेतना फैलाउन एफएम रेडियो तथा छापा सञ्चारमाध्यममार्फत सूचनामूलक सन्देश पनि प्रसारण भइरहेको उहाँले जानकारी दिनुभयो । तर डढेलो नियन्त्रणका लागि पर्याप्त बजेटको अभाव रहेको उहाँले स्वीकार गर्नुभयो । “डढेलो नियन्त्रणका लागि बजेट सीमित छ, त्यसैले सामुदायिक वन समूहका पदाधिकारी र उपभोक्तालाई परिचालन गरेर काम अघि बढाइएका छौँ”, उहाँले भन्नुभयो ।
केही समयभित्रै विभिन्न स्थानमा डढेलोसम्बन्धी सचेतनामूलक छलफल, गोष्ठी तथा अन्तक्र्रिया कार्यक्रम आयोजना गरी स्थानीय बासिन्दालाई सचेत बनाउने योजना रहेको उहाँले बताउनुभयो । डिभिजन वन कार्यालयले डढेलो लागेका स्थानमा तत्काल नियन्त्रणका लागि आवश्यक उपकरण र साधनको व्यवस्था गर्ने तयारी पनि गरिरहेको जनाएको छ । आवश्यक परेको खण्डमा ट्रयाक्टरमा पानी ट्याङ्की जडान गरेर आगो निभाउने व्यवस्था मिलाइएको उहाँले उल्लेख गर्नुभयो ।
त्यसैगरी, डढेलो नियन्त्रणका लागि आवश्यक पर्ने सामग्री सामुदायिक वन उपभोक्ता समूहलाई वितरण गर्ने योजना पनि रहेको कार्यालयले जनाएको छ । डढेलोको जोखिम बढ्दै गएकाले जनचेतना अभिवृद्धि गर्न सप्ताहव्यापी कार्यक्रम सञ्चालन गर्ने तयारी पनि भइरहेको डिभिजनल वन अधिकृत जोशीले जानकारी दिनुभयो । “स्रोतसाधन सीमित भए पनि वन क्षेत्रमा सम्भावित डढेलो नियन्त्रणका लागि कर्मचारी, सामुदायिक वनका पदाधिकारी, सुरक्षाकर्मी र स्थानीय उपभोक्ताबीच समन्वय गरेर काम गर्ने तयारी गरिएको छ”, उहाँले भन्नुभयो ।
डढेलोको जोखिम बढ्दै गएकाले समयमै प्रभावकारी पूर्वतयारी गर्नुपर्ने बैजनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बहादुरसिंह महरा बताउनुहुन्छ । “वन क्षेत्रको संरक्षण केवल सरकारी निकायको मात्र दायित्व नभई स्थानीय समुदाय, सामुदायिक वन समूह र सरोकारवालाको साझा जिम्मेवारी हो”, उहाँले भन्नुभयो, “वन क्षेत्रमा सुक्खा पातपतिङ्गर व्यवस्थापन, अग्निपथ निर्माण तथा स्थानीय तहमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नसके आगलागीको जोखिम धेरै हदसम्म घटाउन सकिन्छ ।”
सुक्खा मौसम, पतझरको समय र मानव गतिविधिका कारण ती क्षेत्रमा हरेक वर्ष आगलागीको जोखिम बढ्ने गर्दछ । वनमा लाग्ने ९० प्रतिशतभन्दा बढी डढेलो मानवीय कारणले लाग्ने गरेको छ । वनमा वनभोज खान जानेहरूले आगो ननिभाइ छाड्ने, गोठालाले नयाँ घाँस पलाउने लोभमा आगो लगाउने र सिकारीले जनावरलाई लखेट्न आगोको प्रयोग गर्नेजस्ता गतिविधिले डढेलो निम्त्याउने गरेको छ ।रासस