• १२ साउन २०८१, शनिबार

सङ्घ र प्रदेशमा निर्वाचित सांसदलाई सम्मान

blog

सम्मानपछि लमजुङबाट निर्वाचित सांसद । तस्बिरः बेलिना थापा

बेलिना थापा

लमजुङ, पुस १ गते । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा निर्वाचित सांसदलाई नेपाल पत्रकार महासङ्घ लमजुङले सम्मान गरेको छ । 

प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपा (एमाले)का पृथ्वीसुब्बा गुरुङ, गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित टकराज गुरुङ र भेषबहादुर पौडेललाई सम्मान गरेको हो । 

बेंसीशहर नगरपालिका ३ स्थित काउलेपानीमा शुक्रबार आयोजित महासङ्घको १५ औं साधारण सभा कार्यक्रममा उहाँहरुलाई सम्मान गरिएको हो । 

पत्रकार महासङ्घ लमजुङका अध्यक्ष परमेश्वर अधिकारीले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको हो। उहाँहरुलाई बधाई ज्ञापन गर्दै कार्यकालमा सञ्चारक्षेत्रको उत्थान र प्रवर्धनसहित जिल्लाको समग्र विकासमा महत्त्वपूर्ण भूमिकाको अपेक्षा गरिएको महासङ्घले जनाएको छ । 

प्रतिनिधि सभा सदस्यमा निर्वाचित गुरुङ गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री, नेकपा (एमाले)का उपमहासचिव हुनुहुन्छ । प्रदेश सभा सदस्य गुरुङ नेपाली कांग्रेस लमजुङका सभापति र पौडेल पूर्व अध्यक्ष हुनुहुन्छ । तीनै जनाले सम्मानप्रति आभार व्यक्त गरेका छन् । 

जिल्लाको समग्र विकास र सञ्चार क्षेत्रको विकासमा सक्दो सहयोग गर्ने बताएका छन् । 

सांसदलाई काउलेपानी सामुदायिक होमस्टे समिति, सिरखोला आमा समूह र काउलेपानी बाबा समूहले पनि सम्मान गरेको छ । 

चामल र दहीको सेतो टीका, सयपत्रीको माला र फेटा लगाएर काउलेपानी सामुदायिक होमस्टेका अध्यक्ष देवबहादुर गुरुङले सम्मान गर्नुभएको हो । अन्य स्थानीयले पनि टीका र मालाले सम्मान गरेका छन् ।