• १४ मंसिर २०८१, शुक्रबार

तराई–मधेशमा बढ्यो चिसो

blog

सर्लाहीमा शुक्रबार बिहान लागेको बाक्लो हुस्सु । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री
सर्लाही, पुस १ गते ।
सर्लाहीसहित तराईका जिल्लाहरुमा चिसो बढेको छ । बाक्लो हुस्सु लागेका कारण घाम लाग्न छोडेपछि तराईमा चिसो बढेको हो । एक–दुई दिनदेखि एक्कासी बढेको चिसोका कारण बालबालिका, वृद्धवृद्धा र विपन्न पारिवार बढी प्रभावित बनेका छन् । चिसोले गर्दा बालबालिकालाई विद्यालय जान समस्या हुन थालेको छ ।

हरिपुर नगरपालिका–६, लक्ष्मीपुर कोद्राहका चन्देश्वर माझीले न्यानो कपडा र पर्याप्त खानेकुरा नहुँदा मुसहर बस्तीका बालबालिका, वृद्धवृद्धालगायत सबै कठ्याङग्रिएर बस्नु परिरहेको गुनासो गर्नुभयो ।

चिसोले मुसहर बस्तीका वृद्धवृद्धाको कठ्याङग्रिएर मृत्यु हुने अवस्था रहेको माझी बताउनुहुन्छ । चिसो छल्नका लागि स्थानीयहरु घर तथा चोक–चोकमा आगो बालेर तापिरहेका छन् ।

विपन्न परिवारलाई चिसोबाट जोगाउन स्थानीय तह तथा अन्य सरोकारवाला निकायले अहिलेसम्म कुनै पहल नगरेको प्रभावितहरुले गुनासो गरेका छन् ।मङ्सिर २८ गते सदरमुकाम मलङ्गवामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले चिसोबाट प्रभावित भएकाहरुका लागि सुरक्षित राख्न स्थानीय तहसहित सरकारी तथा गैरसरकारी सङ्घसंस्था मिलेर न्यानो कपडा, कम्बल जस्ता सामग्री उपलब्धग गराउने, टोल बस्तीमा दाउरा, मुढा वितरण गर्ने निर्णय भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताउनुभयो ।

चिकित्सकले चिसोबाट बच्न काम विशेषबाहेक घर बाहिर ननिस्कन, झोलिलो खानेकुरा पर्याप्त खान, न्यानो कपडा लगाउन सुझाव दिएका छन् । प्रादेशिक अस्पताल मलङ्गवाका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नवलकिशोर झाले अत्यधिक मात्रामा चिसो बढेकाले बालबालिका, वृद्धवृद्धा र शारीरिक रुपमा कमजोर व्यक्तिको विशेष ख्याल गर्नुपर्ने बताउनुभएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, सर्लाहीले बाक्लो हुस्सु लागेका बेला सवारी चलाउँदा र यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । सर्लाहीका ट्राफिक प्रहरी प्रमुख ईश्वर कार्कीले हुस्सु लागेका बेला सवारी दुर्घटनाको जोखिम हुने भएकाले प्रत्येक सवारीलाई बत्ती बालेर सामान्य गतिमा सवारी चलाउन र यात्रुले पनि यात्रा गर्दा सचेत रहन सुझाव दिनुभएको छ ।