• १२ मंसिर २०८१, बुधबार

पर्यटकसँग असुलीबारे छानबिन

blog

भैरहवा समाचारदाता

भैरहवा, पुस १ गते । सुनौली नाका हुँदै नेपाल आउने पर्यटकसँग सिमानामा असुली भएकोबारे जिल्ला प्रशासन कार्यालय रुपन्देहीले छानबिन अघि बढाएको छ। यसका लागि प्रशासनले रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याललाई खटाएको छ।

पर्यटकसँग सिमानामा रकम असुली भएको सूचना आएपछि जिल्ला प्रशासनले छानबिन सुरु गरेको हो। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आयोजना गरेको सरोकारवाला निकायको बैठकमा छानबिन गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो।

“यस विषयमा सबै सरोकारवाला निकायको ध्यानाकर्षण भएको छ। र संयुक्त बैठकले छानबिन गरी दोषीमाथि कारबाहीको सिफारिस गर्ने निर्णय भएको छ,” सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले भन्नुभयो, “छानबिनको प्रक्रिया बुधबारदेखि नै सुरु भएको छ।”

उक्त बैठकले पर्यटकसँग अतिरिक्त असुली गरेको समाचारसम्बन्धमा छनबिन गरी दोषीमाथि कारबाहीका लागि सिफारिस गरी सम्बन्धित पक्षसँगको समन्वयमा सुशासन कायम गर्न पहल गर्ने, बेलहिया नाकास्थित मगन्ते बिचौलिया नियन्त्रण गर्ने कार्य यथाशीघ्र जिल्ला प्रहरी कार्यालयले गर्ने, पर्यटकको सहजीकरणका लागि आधिकारिक एजेन्टलाई परिचयपत्र लगाउने र परिचयपत्रधारी व्यक्तिबाट मात्र पर्यटकलाई सहजीकरण गराउने व्यवस्था जिल्ला प्रहरी, पर्यटन कार्यालय र पर्यटन विकास परिषद्ले गर्ने निर्णय गरेको छ।