लक्ष्मण पौडेल
भैरहवा, मंसिर २९ गते । जग्गाको मुआब्जा बापतको करिब चार करोड रुपियाँ हात पार्न भूमाफियाले जग्गाधनीसँग नक्कली नाता कायम गरेको भेटिएको छ । नक्कली नाता प्रमाणित गर्ने काममा नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ६ का वडाअध्यक्ष, वडा सदस्य र कर्मचारी समेत संलग्न भएको पाइएको छ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका –१० मा पर्ने गौतमबुद्ध विमानस्थलले अधिग्रहण गरेको क्षेत्र अन्तर्गतको स्वर्गीय रामसरे भरको नाममा दर्ता कायम रहेको चार कट्ठा ४ धुर जग्गालाई भूमाफियाले नक्कली नाता प्रमाणित गराई अर्कैको नाममा नामसारी गरिदिएपछि यो रहस्य खुलेको हो ।
जग्गाधनी स्वर्गीय रामासरेको दुई वटी श्रीमती (जेठी मालती भरिन र कान्छी फुलादेवी भरिन) रहेकोमा दुवै जनाको मृत्यु भइसकेको छ । उहाँहरूबाट कुनै सन्तान नभएको मौका छोपी सो जग्गाको मुआब्जा हत्याउन नक्कली नाता प्रमाणित गराई जग्गाको नामसारी समेत गरिएको छ ।
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका –६ कि ७० वर्षीया तिर्थी भरिनलाई आर्थिक प्रलोभनमा पारेर जग्गाधनी रामासरेको भाउजू नाता कायम गराई नामसारी गरेको पाइएको हो । हाल तिर्थी र उहाँको परिवार भने रामग्राम नगरपालिका –१७ मा बस्दैआउनुभएको छ ।
तिर्थी भरिनका छोरा राजुले स्वर्गीय रामासरे र निजको परिवारसँग आफूहरूको कुनै नाता सम्बन्ध नरहेको भन्दै आमालाई आर्थिक प्रलोभनमा पारेर जग्गा नामसारी गराएर मुआब्जा बापतको करोडौँ रकम भूमाफियाले कुम्ल्याउन खोजेको बताउनुभयो ।
“यसमा सात जनाको संलग्नता छ, सात जनाले वृद्ध आमासँग मुआब्जा क्षतिपूर्ति निकासा हुनुभन्दा अगाडि जनही १० लाख रुपियाँको कपाली तमसुक समेत गराएका छन्” उहाँले भन्नुभयो, “तमसुकमा उल्लेखित रकम दिनुपर्दा हामी सडकमा जानुपर्ने अवस्था आउँछ ।” तिर्थी भरिनको परिवार ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दैआएका छन् ।
साबिक भुजौली गाविस –७ मा पर्ने सो जग्गाको हक खाने कोही नभएको र यो जग्गा कानुन बमोजिम अपुताली भई नेपाल सरकारको नाममा जानु पर्नेमा करिब चार करोड रुपियाँ हात पार्न यस्तो खेल खेलिएको उहाँको भनाइ छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले सो क्षेत्रमा प्रतिधुर चार लाख ५० हजार रुपियाँ मुआब्जा निर्धारण गरेको थियो । उक्त मूल्यअनुसार रामासरेको ००–०४–०४ धुर जग्गाको मुआब्जा रकम तीन करोड ७८ लाख रुपियाँ हुन्छ ।
नाता प्रमाणित गराई जग्गा नामसारी गर्ने काममा पाल्हीनन्दन गाउँपालिका –६ का वडाअध्यक्ष कृष्णचन्द्र यादव र वडा सदस्य तथा हाल जिल्ला समन्वय समितिका उपप्रमुख रामदायल तेली, महिला सदस्य अनिता साहनी, भूमाफिया गिरोहका पाल्हीनन्दन गाउँपालिका –६ का नाथुप्रसाद यादव, उनका छोरा अखिलेश यादव, वडा नम्बर ६ कै पारस भर र रामग्राम नगरपालिका–९ बस्ने घनश्याम पाठकको समेत संलग्नता रहेको तिर्थी भरिनका नाति गौतम भरले बताउनुभयो । यस्तो किर्ते काम गर्नेहरुमाथि छानबिन गरी कारबाही गर्न उहाँले माग गर्नुभयो ।
वडाअध्यक्ष यादवले नाता प्रमाणितका बेला आफू बिदामा बसी महिला सदस्य अनिता साहनीलाई कार्यवाहकको जिम्मेवारी दिएको र नाता प्रमाणित गराए बापत ५० लाख रकम आउँछ भनी आश्वासन दिएको बताइएको छ । कार्यवाहक वडाअध्यक्ष साहनीको अवैध सिफारिसको आधारमा मालपोत कार्यालय रुपन्देहीले तिर्थी भरिनको नाममा जग्गा नामसारी गरेको पाइएको छ ।
तिर्थी भरिनका छोरा राजुले ती सातै जनाविरुद्ध छानबिन गरी कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिनुभएको छ । तर तत्कालीन कार्यवाहक वडाअध्यक्ष सहनीले भने गाउँलेले सिफारिस गरेका आधारमा आफूले नाता प्रमाणित गरिदिएको बताउनुभयो । “सार्वजनिक सुनुवाइ गरी प्रमाण पुगाएर पाँच जनाले देवर भाउजूको रूपमा नाता कायम गर्न भनेपछि मैले वडाबाट नाता प्रमाणित गरिदिएको हुँ” उहाँले भन्नुभयो ।
पाल्हीनन्दन गाउँपालिका ६ का वडाअध्यक्ष कृष्णचन्द्र यादवले किर्ते काम नगरेको दाबी गरेका छन् । “नक्कली नाता प्रमाणित गरिएको होइन, सबै बुझेर मात्र गरिएको हो, छानबिन गरेर गलत भएको भए कारबाही भोग्न तयार छौँ” उहाँले भन्नुभयो ।