• १९ असोज २०८१, शनिबार

लुम्बिनी महोत्सवमा कुस्तीको आकर्षण

blog

कुस्तीमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

श्यामशंकर पाण्डे

लुम्बिनी, मंसिर २९ गते । पछिल्ला वर्षहरूमा मेला महोत्सवमा हुने कुस्ती खेलले दर्शकलाई आकर्षित गरेको छ । यसबाट कुस्तीका पहलवानहरूको आम्दानी पनि बढाएको छ । रुपन्देहीको भैरहवामा जारी लुम्बिनी राष्ट्रिय महोत्सवमा पनि कुस्तीले दर्शकको मन जितेको छ । तराईका जिल्लामा लोकप्रिय यो खेलले पछिल्ला वर्षहरूमा सबै वर्गका दर्शकको मन जितेको छ । 


भैरहवामा आयोजित कुस्ती प्रतियोगिताको उपाधि पश्चिम नवलपरासीका वसन्त थापाले हात पार्नुभएको छ । फाइनल खेलमा भारतको पन्जाबका कालिचिता पहलवानलाई पराजित गर्दै थापा पहिलो हुनुभएको हो । पहिलो स्थान हासिल गर्न सफल थापाले २५ हजार रुपियाँ पुरस्कार पाउनुभयो ।


दोस्रो हुनुभएका कालिचिताले १५ हजार रुपियाँ पाउनुभयो । यस्तै, पन्जाबकै अशोक पहलवान तेस्रो हुनुभयो । वीरगन्जका बाबा पहलवानले प्रतिस्पर्धा नगरेपछि अशोक तेस्रो हुनुभएको हो । उहाँले ११ हजार रुपियाँ पाउनुभयो । 


विजेतालाई महोत्सव एवं कुस्ती प्रतियोगिता आयोजक संस्था सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीष्मप्रसाद न्यौपाने, सङ्घका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठ, कोषाध्यक्ष गोविन्द ज्ञवाली, खेल संयोजक हरिबहादुर थापा, प्रचारप्रसार संयोजक कृष्णप्रसाद घिमिरे, सिद्धार्थनगर नगरपालिकाका प्रशासन प्रमुख शेखरनाथ पन्थी लगायतले पुरस्कार प्रदान गर्नुभयो । मङ्सिर २३ बाट सुरु महोत्सवमा २६ देखि २८ गतेसम्म तीन दिन अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता भएको थियो ।