जीबछ यादव
लाहान,मङ्सिर २९ गते । हरेक वर्ष तराई–मधेसका जिल्लाहरूमा आउने शीतलहरको चिसोबाट जोगिन गरिब दलित समुदायहरूलाई परालकै आगो तापेर जाडो काट्ने बाध्यता रहँदै आएको छ ।
यस वर्ष मङ्सिर महिनाको अन्तिम सत्तादेखि सुरु भएको शीतलहरको कहरमा लाहान–१३ गणेशपुरका चमार समुदायहरू बिहानको चिसो छल्न तीन चार ठाउँमा परालकै आगो(घुर) तापेर चिसोबाट जोगिन थालेको त्यस गाउँका ६० वर्षीय सीताराम मोचीले बताउनुभयो । उहाँका अनुसार यो गणेशपुरका राम बस्तीमा मात्रै होइन नभएर अन्य दलित समुदायमा ९० प्रतिशतभन्दा बढी सुकुम्वासी र आर्थिक अवस्था कमजोर हुनेहरू शीतलहर र बाढीको चपेटामा पर्ने नियति नै भैसकेको छ ।
धानको परालको आगो दुई चार मिनेटसम्म पनि टिक्न नसक्ने भएकोले परालको आगो शीतलहर छल्न भरपर्दो नभएको लाहान–१ का आनन्दी समुदायले पीडा पोख्दै भन्नुभयो,‘हरेक दलित बस्तीमा शीतलहर लाग्न सुरु हुनुभन्दा अगावै दाउरा र न्यानो लुगाको लागि स्थानीय वडा र नगरपालिकाले जोहो गरी दिए ठूलो राहत हुन्थ्यो ।’
शीतलहररमा परेर प्रत्येक वर्ष ज्येष्ठ नागरिकहरू मृत्युको मुखमा पर्नेहरूको सङ्ख्या उल्लेखनीय भएकोले शीतलहरको सुरुवात भएसँगै सङ्घ संस्थाहरू र स्थानीय सरकारले लक्षित प्रभावित हुने दलित बस्तीहरुमा आगो ताप्ने दाउरा र न्यानो लुगाको लागि बजेट नै विनियोजन गर्नुपर्ने दलित अभियानकर्मी उमेश विसुन्केको माग छ ।
शीतलहर सुरु भएको छ । अब लाहान नगरपालिकाको २४ वटै वडामा कुनै पनि दलित समुदाय शीतलहरको कहरमा यस वर्ष पर्नुहुँदैन, त्यसका लागि लाहान नगरपालिका आवश्यक राहतको लागि पूर्व तयारीको अवस्थामा रहेको लाहान नगरप्रमुख महेशप्रसाद चौधरीले विश्वास दिलाउनुभयो ।