• ११ असोज २०८१, शुक्रबार

समानुपातिकतर्फ कर्णालीमा १५ महिला एक पुरुष (सूचीसहित)

blog

नवीन सुवेदी

सुर्खेत,  मङ्सिर २९ गते । कर्णाली प्रदेश सभामा समानुपातिकतर्फ १६ जना सांसद बनेका छन् । जसमा १५ जना महिला र एक जना पुरुष सांसद बन्नुभएको हो । नेकपा माओवादी केन्द्रले समानुपातिक सांसदको सूची निर्वाचन आयोगमा बुझाएसँगै १६ वटै समानुपातिक सांसदको टुङ्गो लागेको हो ।

कर्णाली प्रदेश सभामा नेकपा माओवादी केन्द्रबाट समानुपातिकमा आदिवासी जनजाति र पिछडिएको क्षेत्रबाट हुम्लाकी जुम्कित लामा कार्की, खस आर्य महिलातर्फ कालिकोटकी यशोदा न्यौपाने र रुकुम पश्चिमकी मिलन खड्का रोका र दलिततर्फ डोल्पाकी उर्मिला विक समानुपातिक सांसद बन्नुभएको छ । यसअघि नै नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना समानुपातिक सांसदको सूची निर्वाचन आयोगमा बुझाइसकेका छन् ।

नेपाली काङ्ग्रेसबाट आदिवासी जनजातितर्फ सुर्खेतकी बलिमाया बुढा, खस आर्य महिलाबाट सुर्खेत वीरेन्द्रनगरकी जानकी सिंह र हुम्लाकी विजया बुढा, पिछडिएको क्षेत्रबाट दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकाकी इन्द्रकुमारी शाही र महिला दलितबाट सल्यानकी लक्ष्मी सुनार समानुपातिक सांसद बन्नुभएको छ । यस्तै, एमालेबाट खस आर्यतर्फ कालिकोटकी दक्षिणा शाही, रुकुम पश्चिमकी तुलसा मल्ल, पिछडिएको क्षेत्रबाट हुम्लाका कलबहादुर हमाल, दलित महिला तथा पिछडिएको क्षेत्रबाट दैलेख आठबीस नगरपालिकाकी गमता विक र आदिवासी जनजातिबाट सुर्खेतकी नन्दा गुरुङ सांसद बन्नुभएको छ । 

नेकपा एकीकृत समाजवादीबाट महिला खस आर्यतर्फ रुकुम पश्चिमकी कल्याणी खड्का समानुपातिक सांसद बन्नुभएको छ । कर्णाली प्रदेश सभामा समाजवादीले प्रत्यक्षतर्फ भने कुनै सिट ल्याउन सकेको छैन । यस्तै, राप्रपाबाट समानुपातिकमा खस आर्यतर्फ सुर्खेतकी सन्तोषी शाही सांसद बन्नुभएको छ । 

कर्णाली प्रदेशभर कुल खसेको सदर मत ५ लाख ७७ हजार ८२९ मध्ये एमालेले १ लाख ८३ हजार ९९० मत प्राप्त गरेको छ । काँग्रेसले १ लाख ७० हजार ७५६ मत प्राप्त गरेको छ । नेकपा माओवादी केन्द्रले १ लाख ३७ हजार ६२९ प्राप्त गरेको छ । नेकपा एकीकृत समाजवादीले ३६ हजार ८२८ र राष्ट्रिय प्रजातन्त्र पार्टीले २५ हजार १८६ मत प्राप्त गरे ।