• १२ असार २०८१, बुधबार

फोहोर प्रशोधन केन्द्र बनाइने

blog

बुटवल समाचारदाता 

बुटवल, मङ्सिर २९ गते । रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लाको फोहोर व्यवस्थापन गर्नेगरी रुपन्देहीको सैनामैनामा ‘खोरमोर फोहोर प्रशोधन केन्द्र’ निर्माण हुने भएको छ। फोहोर प्रशोधन केन्द्र निर्माणका लागि नेपाल सरकारबाट जग्गा भोगाधिकार प्राप्त गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको सैनामैना नगरपालिकाले जनाएको छ। 

रुपन्देहीको सैनामैना नगरपालिका–१०, खोरमोरमा प्रस्ताव गरिएको फोहोर प्रशोधन केन्द्रको रुपन्देही क्षेत्र नं. ५ का प्रतिनिधि सभाका नवनिर्वाचित सांसद वासुदेव घिमिरेले स्थलगत निरीक्षण गरी तत्काल निर्माणको काम अघि बढाउन पहल थाल्ने बताउनुभएको छ। खोरमोर प्रशोधन केन्द्र निर्माणका लागि बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकाले सम्झौता गरी काम अघि बढाएका छन् भने पछिल्लो पटक प्रशोधन केन्द्रमा तीन जिल्लाको फोहोर प्रशोधन गर्ने प्रक्रिया अघि बढेको छ। 

पछिल्लो पटक सांसद घिमिरेले उक्त क्षेत्रको निरीक्षणपछि यस क्षेत्रको फोहोर व्यवस्थापनका लागि खोरमोर उपयुक्त स्थल हुने देखिएको बताउँदै यसका लागि सङ्घ, प्रदेश र स्थानीय पालिकालगायत निजी क्षेत्रको सहकार्यमा व्यवस्थापनको काम सम्पन्न गरिने विश्वास व्यक्त गर्नुभयो। घिमिरेले फोहोर प्रशोधन केन्द्र निर्माणका लागि सबै सरोकार पक्षको समन्वयमा अगाडि बढ्ने बताउनुभयो। सैनामैना नगरपालिकाका पूर्वप्रमुख चित्रबहादुर कार्कीले रुपन्देहीको मात्र नभई, अरू जिल्लाको समेत फोहोर व्यवस्थापन र प्रशोधन गरी ग्यास उत्पादन गर्ने योजना सबैको सामूहिक प्रयासले सफल हुने विश्वास व्यक्त गर्नुभयो। 

खोरमोरमा फोहोर व्यवस्थापन गर्ने योजना सैनामैना नगरपालिकाका निवर्तमान प्रमुख चित्रबहादुर कार्कीको नेतृत्वमा तीन वर्षअघि बढेको थियो। प्रशोधन केन्द्र निर्माणका लागि २० करोड रुपियाँ खर्च हुने अनुमान गरिएको छ भने त्यसमा एसियाली विकास बैङ्कले समेत ऋण लगानी गर्ने कार्कीले बताउनुभयो। सालझन्डीको सितलापुर लोकमार्गदेखि सात किलोमिटर उत्तरमा रहेको उक्त क्षेत्रसम्म पुग्ने सडक ग्राभेल गर्ने काम सम्पन्न भइसकेको छ।