• १३ साउन २०८१, आइतबार

दाइजो माग्ने चिकित्सक पक्राउ

blog

महोत्तरी समाचारदाता

महोत्तरी, मङ्सिर २९ गते । महोत्तरी जिल्लाको रामगोपालपुर घर भएका डा. पङ्कजकुमार चौधरीलाई दाइजोविरुद्धको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार डा. पङ्कजलाई उनकै घर रामगोपालपुर–५ बाट पक्राउ गरिएको हो। डा. पङ्कजले दाइजोको निहुँमा जिल्लाकै औरही नगरपालिका–१ घर भएकी श्रीमती नेहा चौधरीलाई कुटपिट गरी घरबाट निकाला गर्नुभएको थियो। श्रीमतीले उहाँविरुद्ध घरेलु हिंसा र दाइजो अभियोगमा जिल्ला अदालतमा मुद्दासँगै प्रहरीमा समेत उजुरी दिनुभएको थियो। 

महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले थुनुवामा रहनुभएका डा. पङ्कजविरुद्ध घरेलु हिंसा र दाइजोविरुद्धको मुद्दा चलाउने तयारी भइरहेको बताउनुभयो। 

काठमाडौँको ग्रान्डी अस्पतालमा जनरल फिजिसियनको रूपमा कार्यरत डा. पङ्कजले दाइजोमा काठमाडौँमा घर माग गर्दै श्रीमती नेहालाई पटकपटक कुटपिट गरेर घर निकाला गर्नुभएको थियो। मङ्गलबार दिउँसो डा. पङ्कजको घरमा बस्न श्रीमती नेहा चौधरी पुगे पनि पति, ससुरा र सासूले उनलाई भित्र प्रवेश नदिएपछि नेहा त्यहीँ धर्नामा बस्नुभएको थियो। नेहाको धर्नापछि प्रहरीले डा. पङ्कजलाई पक्राउ गरेको जनाइएको छ। 

नेहा काठमाडौँमा कक्षा ११ मा पढ्दै गर्दा डा. चौधरीसँग प्रेममा पर्नुभएको थियो। त्यतिबेला चौधरी एमबीबीएसमा अध्ययनरत हुनुहुन्थ्यो। प्रेममा परेको तीन वर्षपछि गत फागुनमा उहाँहरूबीच परम्पराअनुसार विवाह भएको थियो। विवाहमा नेहाका परिवारले नगद र सुनचाँदी गरी एक करोडभन्दा बढी रुपियाँ दाइजो दिएको थियो। पछिल्लो समय पङ्कजले काठमाडौँमा घर दाइजो दिनुपर्ने भन्दै श्रीमतीलाई यातना दिँदै आएको आरोप छ।