• १२ मंसिर २०८१, बुधबार

तानसेनमा खानेपानीको समस्या

blog

रेखीराम राना

पाल्पा, मङ्सिर २८ गते । पाल्पा जिल्ला सदरमुकाम तानसेनमा खानेपानीको समस्या बढेको छ। डेढ दशकदेखि खानेपानीको समस्या भोग्दै आएका तानसेनवासी पछिल्लो केही वर्षयता खानेपानीको समस्याबाट झन् पीडित बन्दै गएका छन्। 

पानीको स्रोत थप नभएपछि धारामा पानी आउने समयान्तर पहिलेको तुलनामा बढ्दै गएको तानसेनवासीको गुनासो छ। पाँच/सात वर्षअघिसम्म दुई/तीन दिन बिराएर धारामा पानी आउँथ्यो तर पछिल्लो दुई वर्षयता धारामा पानी आउने समय अवधि एक साता/दस दिनभन्दा बढी पुगेको नगरवासीको भनाइ छ। 

“पहिले बरु धारामा एक/दुई दिन बिराएर पानी आउँथ्यो,” तानसेन–३, टक्सारका स्थानीय बासिन्दा सन्दीपलाल शाक्यले भन्नुभयो, “अहिले सात दिनमा पनि धारामा एक घण्टा पानी आउन गाह्रो छ।”

लामो समयदेखि खानेपानीको समस्या समाधानका लागि काम भइरहेको भने पनि कामले सार्थकता नपाएको उहाँको भनाइ छ। 

कालीगण्डकी खानेपानी योजना सम्पन्न हुन ढिलाइ हुनु, भुल्के र सिस्नेको मुल सुक्दै जानु तथा अव्यवस्थित वितरण प्रणालीले तानसेनबासी खानेपानीको समस्याबाट पीडित बनेका हुन्।

खानेपानी उपभोक्ता समितिले समेत पारदर्शी र प्रभावकारी रूपमा काम गर्न नसकेको उपभोक्ताको गुनासो छ। खानेपानी उपभोक्ता समितिको पदावधि सकिएको तीन वर्ष बितिसकेको छ। नयाँ उपभोक्ता समिति गठन र समितिले प्रभावकारी काम गर्न नसक्दा समस्या आएको भगवतीटोलका स्थानीय बासिन्दा कमल पाण्डेयले गुनासो गर्नुभयो। 

तानसेनमा खानेपानीको वितरण प्रणालीसमेत न्यायोचित छैन। कतै एउटै घरमा दुई/तीनवटा धारा जडान भएका छन्। कतै एउटा धारा पनि छैन। वितरण प्रणालीसमेत वैज्ञानिक नहुँदा समान रूपमा खानेपानी वितरण हुन नसकेको उपभोक्ताको गुनासो छ। 

तानसेनमा चार हजार धारा वितरण भइसकेको र त्यसका लागि दैनिक ३० लाख लिटर खानेपानीको आवश्यकता रहेको छ। तर दैनिक छ/सात लाख लिटर खानेपानी मूल ट्याङ्कीमा खस्ने गरेको उपभोक्ता समितिले जनाएको छ। खानेपानी उपभोक्ता समितिले कालीगण्डकीको योजना सम्पन्न हुने क्रममा रहेको जनाएको छ। 

पानी तान्ने पुराना पम्प बिग्रिँदा र पानीको स्रोत कम हुँदा समस्या भएको उपभोक्ता समितिका सचिव केशव पौडेलले बताउनुभयो। “तीस वर्षअघि जडान भएका पम्प बेला–बेलामा बिग्रने समस्याले गर्दा समयमै पानी वितरण हुन सकेको छैन,” उहाँले भन्नुभयो, “कालीगण्डकीको पानी वितरण भएपछि समस्या कम हुन्छ।”