पाल्पा समाचारदाता
पाल्पा, मङ्सिर २८ गते । यस जिल्लाको तीन पालिकामा १५ शय्याका अस्पताल निर्माणको काम तीव्र गतिमा अगाडि बढेको छ। पूर्वखोला, माथागढी, निस्दी गाउँपालिकाले १५ शय्याका अस्पताल बनाउने कामलाई तीव्र गतिमा अगाडि बढाएका हुन्।
डेढ वर्षअघि नै सुरु भएको अस्पताल निर्माणको कामले यो वर्षदेखि गति लिएको पालिकाहरूले जनाएका छन्। पूर्वखोलाको वीरकोट, माथागढीको झडेवा, निस्दीको रुक्सेभन्ज्याङमा पालिकास्तरीय अस्पताल निर्माणको काम अगाडि बढेको छ।
पूर्वखोला गाउँपालिकाको वीरकोटमा निर्माणाधीन अस्पतालको भवन निर्माणतर्फ ३० प्रतिशत काम सम्पन्न भएको पालिकाले जनाएको छ। २०७८ असार २३ गतेदेखि निर्माण कार्य सुरु भएको भवनको ३० प्रतिशत काम सम्पन्न भएको पालिकाका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिनुभयो। २०८० असार २३ गते सम्पन्न गर्ने गरी अस्पतालको भवन निर्माण गर्न १२ करोड ५१ लाख रुपियाँ लागतमा बीकेओआई–दावा जेभी प्रालिसँग सम्झौता भएको छ।
यस्तै माथागढीको झडेवामा निर्माणाधीन १५ शय्याको अस्पतालको निर्माण कार्य ३५ प्रतिशत सकिएको पालिकाले जनाएको छ। १२ करोड ५० लाख रुपियाँ लागतमा दुई वर्षभित्र काम सकिने गरी प्राकृतिक निर्माण सेवा कम्पनीसँग २०७८ असार २३ गते सम्झौता भएको पालिकाका अध्यक्ष यमबहादुर चिदीले जानकारी दिनुभयो।
उता निस्दी गाउँपालिकाको रुक्सेभञ्ज्याङमा बनिरहेको अस्पतालको भवनको हालसम्म २२ प्रतिशत काम सकिएको जनाएको छ। एक वर्षअघि रविना–श्रेया जेभी कम्पनीसँग १६ करोड ६८ लाख रुपियाँ लागतमा सम्झौता भई काम सुरु भएको पालिकाका इन्जिनियर सञ्जय खनालले जानकारी दिनुभयो।
सो सम्झौतापछि पूर्वाधार निर्माणको काम द्रुत गतिमा अगाडि बढेको इन्जिनियर खनालले बताउनुभयो। १५ शय्याको अस्पताल निर्माण भएपछि विकट क्षेत्रका नागरिकले सर्वसुलभ रूपमा आधारभूत स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ।