• १२ मंसिर २०८१, बुधबार

बुटवललाई व्यवस्थित बनाउन अभियान

blog

बुटवल समाचारदाता

बुटवल, मङ्सिर २८ गते । बुटवल उपमहानगरपालिकाले बुटवल नगरक्षेत्रलाई व्यवस्थित बनाउने अभियान सुरु गरेको छ। सरोकारवालासँग छलफल गरी बुटवल क्षेत्रको मुख्य राजमार्ग क्षेत्र, अत्यावश्यक सेवा क्षेत्र, मुख्य चोकहरू, ठेला र ई–रिक्सा व्यवस्थापनको काम सुरु गरेको हो। निर्वाचन आचारसंहिता सकिएलगत्तै बुटवल नगर तथा बजारक्षेत्रलाई सफा, सुन्दर र स्वच्छ बनाउने अभियान सुरु गरिएको नगर प्रमुख खेलराज पाण्डेयले बताउनुभयो। 

सडकको क्षेत्राधिकार अतिक्रमण गरी व्यवसाय सञ्चालन, पार्किङ, निर्माण सामग्री थुपार्ने, सडक र फुटपाथ अवरोध नगर्न आग्रह गर्दै अटेर गरिएमा कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने भएको छ। “निर्वाचन आचारसंहिताका कारण चाहेर पनि केही कामहरू सुरु गर्न सकेका थिएनौँ,” नगरप्रमुख पाण्डेले भन्नुभयो, “बुटवल नगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउनका लागि सबैले उत्तिकै भूमिका निर्वाह गर्न जरुरी छ।” 

अहिलेबाट सडक फुटपाथ तथा ठेला व्यवस्थापनको काम सुरु गरेको बताउँदै उहाँले अनधिकृत रूपमा सडक क्षेत्रमा ठेला नराख्न, ई–रिक्सा चोकमा पार्किङ गरेर सवारी जाम गर्ने, एम्बुलेन्स आवागमनमा समेत अवरोध पु¥याउनेलाई कानुनअनुसार कारबाही गर्ने चेतावनी दिनुभयो। पहिलो चरणमा यहाँको अस्पताल लाइनमा अत्यावश्यक तथा अस्पतालमा आउनेजानेबाहेकका सवारी पार्किङ तथा फुटपाथको व्यापार व्यवसाय हटाइएको छ। सडक क्षेत्रमा राखिएका मोटरसाइकल रिकन्डिसन, वर्कसप, सोरुम, फर्निचर व्यवसाय, निर्माण तथा अन्य सबैखालका व्यापार व्यवसाय हटाउन आह्वान गरिएको छ। सो सम्बन्धमा अनुगमन गरी कारबाही अघि बढाउने नगरप्रमुख पाण्डेयले बताउनुभयो।   

नगर सफा र सुन्दर भएन, अव्यवस्थित भयो भनेर आफैँ भन्ने, व्यवस्थित गर्न खोज्दा अटेरी गर्ने काम ठीक भएन भन्दै उहाँले नगरलाई सफा र सुन्दर राख्ने काम हरेक बुटवलबासीको दायित्व भएको बताउनुभयो। यस्तै नगरभित्र ठूलो आवाजमा हर्न बजाउने र मोटरसाइकल मोडिफाइ गर्ने, ध्वनि प्रदूषण गर्नेहरूलाई कारबाही थालिएको उपमहानगरले जनाएको छ।  जिल्ला ट्राफिक प्रहरीसँगको समन्वयमा रातको समयमा समेत ध्वनि प्रदूषण गर्नेलाई अनुगमन गरी कारबाही अघि बढाएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले जानकारी दिनुभयो। उहाँले सडक क्षेत्रमा ठेला राखेर अखाद्य मासु र मदिराको समेत व्यापार गर्ने गुनासो आएकाले त्यस्ता व्यवसायलाई कडा कारबाही गर्ने निर्णय भएको बताउनुभयो। उहाँले बुटवल क्षेत्रका हाटबजार व्यवस्थापन गरी तोकिएका स्थानमा बाहेक अन्यत्र बजार नलगाउन व्यवसायीलाई आग्रह गरेको छ।