• १२ मंसिर २०८१, बुधबार

देउखुरीमा बढ्यो चहलपहल

blog

दिवाकर पोख्रेल

देउखुरी, मङ्सिर २८ गते । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (दाङ देउखुरी)मा चहलपहल सुरु भएको छ। मुख्यमन्त्रीको कार्यालय स्थानान्तरण भएसँगै प्रदेश राजधानीमा चहलपहल बढेको हो। मुख्यमन्त्री, मन्त्री, कर्मचारी र सुरक्षाकर्मीलगायतको उपस्थिति बढेको छ।

स्थानीयहरू पनि राजधानी क्षेत्रमा नियमित सरसफाइ तथा अन्य सजावटलगायतका कार्यमा जुट्न थालेका छन्। राजधानी स्थापना र कार्यान्वयन सुरु भएपछि राजमार्ग छेउछाउका बस्ती तथा प्रतीक्षालय मर्मतसम्भार र रङरोगन गर्न थालिएको छ । 

देउखुरीको पूर्वमा धानखोलादेखि पश्चिममा शिवखोलासम्म दर्जनौँ बस बिसौनी रहेका छन्। प्रतीक्षालयहरूमा रङ लगाउने काम भइरहेको छ। राप्ती उद्योग वाणिज्य सङ्घ र स्थानीय होटल व्यवसायीको अगुवाइमा प्रतीक्षालय तथा सार्वजनिक संरचना रङरोगन गर्ने काम भइरहेको राप्ती उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरज खड्काले बताउनुभयो। 

सरसफाइ र सजावटको काम जनस्तरबाट भइरहेका जानकारी दिँदै राजधानीको स्वागतको तयारी अघि बढेको उहाँले बताउनुभयो। राजमार्ग किनारमा बढेका झाडीसमेत सफाइ गर्न थालिएको छ। 

बजार क्षेत्र तथा मूल सडकमा पर्ने चोकहरूमा स्वागतद्वार निर्माण, प्रतीक्षालय रङरोगन र सरसफाइ गर्ने काम धमाधम भइरहेको स्थायी राजधानी सरसफाइ तथा सौन्दर्यीकरण उपसमितिका संयोजक श्यामेश चौधरीले बताउनुभयो। लुम्बिनी प्रदेशका १३ मन्त्रालयमध्ये छवटा मन्त्रालय र संसद् भवन एकै परिसरभित्र स्थापना हुने भएका छन्। संसद् भवन निर्माणको काम अन्तिम चरणमा छ भने मुख्यमन्त्री कार्यालय स्थापना गरिएको छ। मुख्यमन्त्री कार्यालयसहित छवटा मन्त्रालय परिसरभित्रै रहने छन्। बाँकी मन्त्रालयलाई परिसर बाहिर व्यवस्थापन गर्ने तयारी भइरहेको प्रदेश सरकारले जनाएको छ। 

राजधानी कार्यान्वयन प्रक्रिया तीव्र हुँदा मन्त्रालयको व्यवस्थापनको काम धमाधम भइरहेको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले जानकारी दिनुभयो।

लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा मङ्सिर २८ गते झन्डोत्तोलन कार्यक्रम राखिएको छ। झन्डोत्तोलनसँगै स्थायी राजधानीबाट प्रशासनिक कामहरूशुभारम्भ हुने जनाइएको छ।