कविराज घिमिरे
हिले, मङ्सिर २८ गते । मध्य पहाडी राजमार्ग, भेडेटार–राजारानी–रवि–राँके, मूलघाट–त्रिवेणी, तमोर–कावेली कोरिडोरलगायतका सडक सञ्जालमार्फत पूर्वका पहाडी र हिमाली जिल्ला आपसमा जोडिन लागेका छन्।
ट्रयाक खोल्ने काम पूरा भएका यी सडक स्तरोन्नतिको चरणमा छन्। यी सडक निर्माण नहुँदा प्रदेश १ को एउटा पहाडी तथा हिमाली जिल्लाबाट अर्को जिल्लासम्म पुग्न तराई पुगेर घुम्नुपर्ने बाध्यता छ। सडकको ट्रयाक खन्ने काम गरे पनि स्तरोन्नति पूरा नहुँदा सडक पूर्णरूपमा सञ्चालनमा आउन सकेका छैनन्। साना र निजी गाडी भने निर्माण सम्पन्न नभएका सडकमा गुड्न थालेका छन्।
अहिले मध्य पहाडी लोकमार्गका विभिन्न सडक खण्ड पिच गर्ने क्रम चलिरहेको छ। तमोर कोरिडोर ग्राभेल गर्ने क्रममा छ। भेडेटार राजारानी रवि राके सडक पिच सुरु भएको छ। सडक सञ्चालनमा ल्याउन सके यहाँका एउटा पहाडी जिल्लाबाट अर्को पहाडी जिल्लामा पुग्न तराईसम्म घुम्नु पर्दैन।
पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने
पहाडै पहाड भएको सडकको विस्तारले आर्थिक सामाजिक र सांस्कृतिक विकासमा टेवा पुग्ने पाँचथरका स्थानीय प्रेम ओझा बताउनुहुन्छ। पहाडी र हिमाली जिल्ला एक आपसमा आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा जोडिन यी सडक माध्यम बन्ने उहाँको भनाइ छ। सडक सम्पन्न भएपछि कृषि क्षेत्रको विकाससँगै पहाडी क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय स्थलको समेत प्रवद्र्धन गर्न मद्दत मिल्ने देखिन्छ। तमोर कावेली कोरिडोरको निर्माणपछि चतारा, वराहक्षेत्र र पाथीभरा एक आपसमा जोडिने छन्। जसले धार्मिक पर्यटनमा टेवा पुग्ने छ।
भेडेटार–रवि–राँके सडकले पूर्वका पर्यटकीय स्थल भेडेटार राजारानी मिक्लाजुङ क्षेत्र जोडिनेछन्। इलामबाट समेत पहाडैपहाड हुँदै भेडेटारसम्म पुग्न सकिन्छ। यो मार्ग पर्यटकीय मार्गको रूपमा विकास हुने साँगुरीगढी गाँउपालिकाका अध्यक्ष तथा पर्यटन व्यवसायी जितेन्द्र रुम्दाली राई बताउनुहुन्छ। राईले भन्नुभयो “पूर्वी नेपाल छिरेका पर्यटक पहाडको एक पर्यटकीय स्थलबाट अर्को पहाडी पर्यटकीय स्थल पुग्न यी मार्गबाट सम्भव हुनेछ।”
मध्यपहाडी राजमार्गले ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङलगायत जिल्लाका पर्यटकीय स्थल एक आपसमा जोड्ने र पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने पर्यटन पूर्वाधार विकास संस्था धनकुटाका अध्यक्ष खगेन्द्र विष्ट बताउनुहुन्छ। यी जिल्लामा तिम्बू पोखरी, ह्यातुङ झरना, तीनजुरे मिल्के जलजले, टेम्के डाँडा, साल्पा पोखरीलगायत दर्जनौँ पर्यटकीय स्थल रहेका छन्। यी सबै पर्यटकीय स्थललाई एक आपसमा जोडेर पर्यटन प्रवद्र्धन गर्न सकिन्छ।
कृषि उत्पादनको व्यवसायीकरण
सडक निर्माणबाट पहाडी जिल्लामा उत्पादन भएका कृषिजन्य उत्पादनलाई विभिन्न जिल्लामा पु¥याउनसमेत सहज हुनेछ। तराईसम्म पुग्न बाटोको दुरी कम हुँदा उत्पादन ढुवानीको लागतसमेत कम पर्न जान्छ। धनकुटाको मुलघाटदेखि तमोर नदीको किनारै किनार करिब १८० किलोमिटर तथा विराटनगरको रानी भन्सारबाट चीन सीमासम्मको लम्बाइ २७० किलोमिटर छ। यो भारतदेखि चीनको सिमाना जोड्ने छोटो मार्गसमेत हो।
प्रदेश १ को मध्यभागमा रहेको धनकुटालाई आधार मान्ने हो भने हाल यहाँसम्म पुग्न तराईको बाटो हुँदै ताप्लेजुङबाट ३७८ किलोमिटर पार गर्नुपर्छ। यो बाटो आउँदा पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी हुँदै धनकुटा पुग्नुपर्छ। मध्यपहाडी लोकमार्ग हुँदै ताप्लेजुङबाट धनकुटासम्म आउन २४९ तथा तमोर कावेली कोरिडोर हुँदै करिब दुई सय किलोमिटरपछि धनकुटा पुग्न सकिन्छ। पाँचथरबाट तराइ हुँदै २८४, पाँचथरबाट १६३ तथा तमोर कावेली कोरिडोर हुँदै करिब एक सय किलोमिटर मात्र यात्रा तय गरे पुग्छ।
इलामबाट तराई हुँदै २२५, सोलुखुम्बुबाट ३६१, ओखलढुङ्गाबाट ३१२ र खोटाङबाट ३५३ किलोमिटरको यात्रा तय गर्नुपर्ने बाध्यता छ तर मध्यपहाडी राजमार्ग हुँदै इलामबाट १५०, सोलुखुम्बुबाट ३४४, ओखलढुङ्गाबाट २९० र खोटाङबाट १८५ किलोमिटरको यात्रा गरेपछि धनकुटासम्म पुग्न सकिन्छ। यी मार्गको विकासपछि धनकुटालाई मात्र होइन पूर्वी तराईका विराटनगर, इटहरी, धरानलगायतका बजारसँग पनि पहाडी जिल्ला नजिक हुने र व्यापार प्रवद्र्धन गर्न सजिलो हुने उद्योग वाणिज्य सङ्घ धनकुटाका अध्यक्ष विजय सन्तोषी राई बताउनुहुन्छ।