राममणि दाहाल
हेटौँडा, मङ्सिर २८ गते । बागमती प्रदेश सभाको पहिलो कार्यकालको भन्दा दोस्रो कार्यकालमा दलहरूको प्रतिनिधित्वको आधारमा अङ्क गणितमा फेरबदल भएको छ । प्रत्यक्ष प्रणालीबाट ६६ र समानुपातिक प्रणालीबाट ४४ गरी ११० सदस्य रहेको प्रदेश सभामा पहिलो पटक प्रत्यक्ष र समानुपातिक गरी ५८ सिट जित्दै स्पष्ट बहुमतसहित पहिलो स्थानमा रहेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) दोस्रो कार्यकालमा आउँदा दोस्रो दल बनेको छ । यस पटक प्रत्यक्षबाट १३ र समानुपातिक प्रणालीबाट १४ जना गरी एमालेका २७ जना प्रदेश सभा सदस्यले प्रदेश सभामा प्रतिनिधित्व गर्दै छन् ।
यस्तै पहिलो प्रदेश सभामा २१ सिटसहित तेस्रो स्थानमा रहेको नेपाली कांग्रेस यस पटक ३७ सिटसहित पहिलो स्थानमा उक्लँदा पहिलो कार्यकालमा २३ सिटसहित दोस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र) दोस्रो कार्यकालको प्रदेश सभामा २१ प्रदेश सभा सदस्यसहित तेस्रो स्थानमा झरेको छ ।
एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी बन्दा यसअघिको प्रदेशमा नेकपाको दुई तिहाइ बहुमत पुगेको थियो । पहिलो प्रदेश सभामा समानुपातिकबाट एक÷एक जना प्रदेश सभा सदस्य पाएका राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) पछि एकीकरण भएर राप्रपा बनेपछि दुई जनाले प्रतिनिधित्व गरेकोमा यस पटक प्रत्यक्ष प्रणालीबाट सात जना निर्वाचित हुँदै र पाँच जना समानुपातिकबाट गरी १२ जना प्रदेश सभा सदस्यसहित राप्रपा प्रदेश सभाको चौथो ठूलो दल बनेको छ । उता यसअघिको प्रदेश सभामा एक जना प्रत्यक्ष प्रणालीबाट र एक जना समानुपातिक प्रणालीबाट गरी दुई जना निर्वाचित भएको नेपाल मजदुर किसान पार्टीको यस पटक एक जना प्रत्यक्ष प्रणाली र दुई जना समानुपातिक प्रणालीबाट गरी तीन जना सदस्य पुगेको छ ।
अघिल्लो कार्यकालमा एमालेबाट निर्वाचित एक प्रदेश सभा सदस्यको निधनपछि भएको उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार विजयी भएपछि कांग्रेसको प्रदेश सभा सदस्य २२ जना पुग्दा एमाले विभाजित भएपछि प्रदेश सभा सदस्य ४४ जनामा सीमित बनेको थियो । एमाले विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा १३ जना प्रदेश सभा सदस्य गएका थिए । दोस्रो कार्यकालका लागि एकीकृत समाजवादीका प्रत्यक्ष प्रणालीबाट पाँच जना निर्वाचित र दुई जना समानुपातिक प्रणालीबाट प्रतिनिधित्व गर्ने भएका छन् ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट नयाँ शक्ति पार्टीका पहिलो प्रदेश सभामा एक जना प्रदेश सभा सदस्य निर्वाचित भएकोमा पछि नयाँ शक्ति पार्टी र जनता समाजवादी पार्टी नेपालबीच एकीकरण भएको थियो ।
यस्तै पहिलो प्रदेश सभामा विवेकशील साझा पार्टीका समानुपातिक प्रणालीबाट तीन जना प्रदेश समा सदस्य रहेका थिए । तर, यस पटक जनता समाजवादी पार्टी नेपाल र विवेकशील साझा पार्टीले प्रत्यक्ष प्रणालीबाट निर्वाचित नहुँदा र समानुपातिक प्रणालीतर्फ आवश्यक मत नपुग्दा यस पटक दुवै दल प्रदेश सभाबाट बाहिरिएका छन् ।
यसैबीच नयाँ दल हाम्रो नेपाली पार्टीले काठमाडौँबाट एक जना प्रत्यक्ष प्रणालीबाट जितेको र एक जना समानुपातिक प्रणालीबाट गरी प्रदेश सभाको दोस्रो कार्यकालमा दुई जना प्रदेश सभा सदस्यले प्रदेश सभामा प्रवेश पाएका छन् ।
प्रदेश सभाको अघिल्लो कार्यकालमा कांग्रेस, एमाले, माओवादी केन्द्र र नेपाल मजदुर किसान पार्टीको प्रत्यक्ष प्रणालीसँगै समानुपातिक प्रणालीबाटसमेत प्रदेश सभामा प्रतिनिधित्व रहेको थियो । यस पटक भने प्रत्यक्ष प्रणालीबाट निर्वाचित सबै दलहरूले समानुपातिक प्रणालीबाट प्रदेश सभामा प्रतिनिधित्व गर्न आवश्यक मत पाएकाले समानुपातिकतर्फसमेत प्रदेश सभा सदस्यको सुनिश्चित भएको छ ।
प्रदेश सभाको पहिलो कार्यकालको एमाले विभाजित हुनुपूर्व सरकार गठनका लागि एकल बहुमत रहेकोमा यस पटक एक दलको स्पष्ट बहुमत नरहेकाले दुई वा दुईभन्दा बढी दल मिल्नै पर्ने बाध्यता छ । अब प्रदेश सरकार गठनका लागि आवश्यक बहुमत ५६ जना सत्ता गठबन्धनमा रहेको कांग्रेस र माओवादी केन्द्र मात्र मिल्दा पनि पुग्नेछ । कांग्रेस र माओवादीका ५८ जना छन् भने एकीकृत समाजवादी थपिँदा ६५ जना प्रदेश सभा सदस्य हुनेछन् ।