• १३ असोज २०८१, आइतबार

महाभारतमा केन्द्रीय विद्युत् पु-याइँदै

blog

केदार तिमल्सिना 

काभ्रेपलाञ्चोक, मङ्सिर २८ गते । काभ्रेपलाञ्चोक जिल्लाको डाँडापारि क्षेत्रका दुई गाउँपालिकामा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारणको विद्युत् विस्तार कार्य सुरु गरिएको छ । विद्युत् प्राधिकरणले जिल्लालाई पूर्ण विद्युतीकरण गर्ने उद्देश्यले केन्द्रीय प्रसारण लाइन नपुगेका महाभारत र खानीखोला गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन विस्तार गरी विद्युत् उपलब्ध गराउने भएको हो । 

विद्युत् प्राधिकरण बनेपा वितरण केन्द्रका प्रमुख इन्जिनियर ध्रुवराज कार्कीले जिल्लालाई पूर्ण विद्युतीकरण गर्ने उद्देश्यले केन्द्रीय प्रसारणको बिजुली नपुगेको महाभारत र खानीखोला गाउँपालिकामा विद्युतीकरणको काम गरिरहेको बताउनुभयो । उहाँले महाभारत गाउँपालिकामा हालसम्म एक हजार दुई सय थान मिटर पठाइएकोमा दुई सयवटा मिटर जडानको काम सकिएको बताउनुभयो । कार्कीले आगामी दुई÷तीन महिनामा महाभारत गाउँपालिकाका नागरिकले केन्द्रीय प्रसारणको विद्युत् सेवा उपयोग गर्न सक्ने भन्दै खानीखोला गाउँपालिकामा पनि विद्युतीकरणको काम भइरहेको बताउनुभयो । खानीखोला गाउँपालिकामा दक्षिण ललितपुरबाट विद्युत्को लाइन लगिने भएको छ । 

खानीखोला गाउँपालिकामा विद्युत् पोल गाड्ने, तार तान्ने र विद्युत् ट्रान्समिटर जडानको काम भइरहेको भन्दै उहाँले नागरिकले विद्युत् मिटर मागका लागि गाउँपालिकासँग समन्वय गरेर पन्ध्र सय फाराम गाउँ पठाइएको बताउनुभयो । 

महाभारत गाउँपालिकाका निमित्ति प्रमुख प्रशासकीय अधिकृत हरिसिंह विष्टले गाउँपालिकाभित्रका करिब तीन हजार एक सय घरधुरीमा केन्द्रीय प्रसारण लाइनमार्फत विद्युत् वितरण गर्न गाउँपालिकाले मिटर खरिदका लागि स्थानीयलाई प्रतिघरधुरी एक हजार रुपियाँ अनुदान उपलब्ध गराएको बताउनुभयो । 

महाभारत गाउँपालिका–४ का वडाध्यक्ष विशाल मोक्तानले हाल वडाभित्रका १३० घरधुरीले केन्द्रीय प्रसारणको विद्युत् उपयोग गरिएको बताउँदै वडाका थप करिब डेढ सय घरधुरीले आगामी एक साताभित्र केन्द्रीय प्रसारणको विद्युत् सेवा लिने बताउनुभयो । जिल्लाको डाँडापारि क्षेत्रमा रहेका साबिकका दस गाविस हालका दुई गाउँपालिकामा विभिन्न वडाका नागरिकले लघुजलविद्युत् आयोजनामार्फत विद्युत् सेवा लिइरहेका छन् ।