श्यामशङ्कर पाण्डे
लुम्बिनी, मङ्सिर २७ गते । भैरहवामा आयोजित उद्योग, व्यापार, कृषि एवं पर्यटन महोत्सवमा दुनाटपरी बनाउने प्रतिस्पर्धा गराइएको छ। प्लास्टिकजन्य वस्तुको प्रयोगलाई निरुत्साहित गरी अर्गानिक वस्तुको प्रयोग बढाउने उद्देश्यले प्रतिस्पर्धा गराइएको हो। आधुनिक प्रविधिको प्रयोगसँगै हातले बनाइने दुनाटपरी, बोहोता लोप हुँदै गइरहेका बेला यस्तो प्रतिस्पर्धामार्फत परम्पराको संरक्षण गर्दै व्यावसायिकीकरण गर्ने कार्यमा जुटेको आयोजकले जनाएको छ।
धार्मिक पूजाआजा, विवाह, व्रतबन्ध, श्राद्धलगायत कार्यमा पहाडका बस्तीहरूमा अझै पनि सालका पातको दुनाटपरी प्रयोग गर्ने प्रचलन छ। नयाँ पुस्तामा दुनाटपरी बनाउने सीपको कमी देखिएको छ। धार्मिक विश्वाससँग जोडिएको परम्परागत दुनाटपरीभन्दा प्लास्टिकका सामग्री प्रयोग बढ्दै गइरहेका बेला यसको संरक्षण, प्रयोग र नयाँ पुस्तामा सीपको विकास बढाउने भन्दै ‘दुनाटपरी, बोहोता तथा बत्ती कात्ने प्रतिस्पर्धा’ गराइएको आयोजक संस्था सिद्धार्थ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठले जानकारी दिनुभयो। “दुनाटपरीहरू स्थानीयस्तरमा पाइने साललगायत अन्य बिरुवाका पातबाट सहजै बनाउन सकिन्छ तर आधुनिकतासँगै लोप हुने खतरा बढ्यो,” सङ्घकी महिला उद्यमी तथा हस्तकला संयोजक पल्लवी न्यौपानेले भन्नुभयो, “पुरानो परम्पराको जगेर्ना गर्दै प्लास्टिकभन्दा स्वदेशमै पाइने हस्तकलाका सामान प्रयोग गरौँ भन्ने सन्देश दिन दुनाटपरी, बोहोता तथा बत्ती कात्ने प्रतिस्पर्धा कार्यक्रम मेलास्थलमा राखेका हौँ।”
सीप सिके स्वरोजगार पनि भइने, वातावरणलाई कुनै असर नगर्ने, सजिलै पाइने र प्रयोगका लागि पनि सहजता भएकाले विभिन्न विरुवाका पातबाट बनेका दुनाटपरी प्रयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। “प्लास्टिकका सामग्रीभन्दा वनस्पतिका सामग्री सस्तो पनि पर्छ। कोही कसैले व्यवसाय गर्छु भन्ने चाहना राखेमा घर तथा सानो ठाउँमा पनि दुनाटपरी बनाएर विक्री वितरण गर्न सक्छन,” उहाँले भन्नुभयो, “महोत्सवमा हुने प्रतिस्पर्धाले धेरैलाई यसतर्फ प्रेरित गर्ने विश्वास लिएका छौँ।”