• २० असार २०८१, बिहिबार

पालिकाले बाँड्यो मकैको बीउ

blog

रङ्गेली समाचारदाता

विराटनगर, मङ्सिर २७ गते । विराटनगर महानगरपालिकाले कृषकहरूलाई अनुदानमा मकैको बीउ र जिङ्क वितरण गरेको छ। महानगर क्षेत्रभित्रका कृषक समूह र सहकारी कृषि फर्महरूलाई ५० प्रतिशत अनुदानमा बीउ वितरण गरिएको हो। 

महानगरको आर्थिक विकास महाशाखाअन्तर्गतको कृषि शाखाले आइतबार एक कार्यक्रम आयोजना गरी हाइब्रिड मकैको बीउ र जिङ्क वितरण गरेको छ। विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले समूह र सहकारीका प्रतिनिधिलाई बीउ हस्तान्तरण गर्नुभयो। 

प्रमुख कोइरालाले अव्यवस्थित सहरीकरणका कारण खेतीयोग्य जमिन मासिँदै गएकाले बाँकी कृषियोग्य जमिनको सुरक्षा गरिने बताउनुभयो। कोइरालाले रासायनिक मलको सट्टा प्राङ्गारिक र जैविक मलको प्रयोग बढाउन किसानलाई आग्रह गर्नुभयो। महानगरपालिकाभित्र सुरक्षित रहेको खेतीयोग्य जमिनको उत्पादकत्व वृद्धि गर्ने र त्यसको सुरक्षामा ध्यान दिने प्रमुख कोइरालाको दाबी छ। आर्थिक विकास समितिका संयोजक तथा वडा नम्बर १९ का वडाध्यक्ष श्याम घिमिरेले जथाभाबी रासायनिक मलको प्रयोगले उत्पादन घट्नुका साथै जमिनको उर्वराशक्तिमा कमी आइरहेको बताउनुभयो। 

महानगरले २६ वटा कृषक समूह र सहकारी कृषि फर्मका ३३९ घरधुरीलाई एक हजार १७६ केजी मकैको बीउ, आठ हजार ३३३ केजी जिङ्क वितरण गर्ने योजना छ। बीउबाट ५४ दशमलव ६२ हेक्टर र जिङ्कले ५२ दशमलव ३२ हेक्टर क्षेत्रफलमा खेती गर्न सकिने कृषि शाखा प्रमुख खगेश्वर तिम्सिनाले जानकारी दिनुभयो।