• १३ असोज २०८१, आइतबार

भ्रष्टाचारीलाई आजीवन कारागारको व्यवस्था हुनुपर्छ : प्रदेश प्रमुख शेरचन

blog

कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन। तस्बिर : कपिल ज्ञवाली।

कपिल ज्ञवाली 

सिद्धार्थनगर, मङसिर २५ गते। लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले देशको प्रमुख समस्या भ्रष्टाचार भएको बताउनुभएको छ। भ्रष्टाचार त्यसको नियन्त्रण अब सबैको साझा ऐजेन्डा बन्नुपर्ने उहाँको भनाइ छ। 

मानवअधिकार तथा शान्ति समाजको ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार-२०७८’ अर्पण कार्यक्रमलाई आइतबार बुटवलमा सम्बोधन गर्नुहुँदै शेरचनले मुलुक बनाउनेले भ्रष्टाचार पूर्ण रूपमा नियन्त्रण गर्नुपर्ने उल्लेख गर्नुभयो। 

उहाँले भन्नुभयो, ‘लोकतन्त्र, गणतन्त्र ल्याउन शान्ति समाज अग्र मोर्चामा उभिएको थियो, अब भ्रष्टाचार रोक्न फेरि पनि नागरिक समाजले खबरदारी गर्नुपर्ने छ, शान्ति विना विकास र स्थायित्व, स्थायित्व बिना समृद्धिको कल्पना पनि गर्न सकिँदैन।’

उहाँले मानव अधिकारको परिभाषा र दायरा निकै फराकिलो भएको भन्दै जनताको अधिकार सुरक्षित गर्न सबै जुट्नुपर्ने बताउनुभयो। 

कार्यक्रममा बोल्नुहुँदै मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले नेपालमा लोकतन्त्र÷गणतन्त्र खतरामा रहेको बताउनुभयो। परिवर्तित व्यवस्थामा अ‍ैजेरु पलाएको भन्दै ठूला दलका नेताहरूले यस्ता गलत प्रवृत्तिकै संरक्षण गर्न गरेको बताउनुभयो। उहाँले शान्ति समाजले सम्मान गरेको व्यक्ति पिँधमा पारिएको समुदायबाट भएको उल्लेख गर्दै समाज रूपान्तरण हुन नसकेको बताउनुभयो।

सो अवसरमा ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार–२०७८’ विनोद पहाडीलाई प्रदान गरिएको  छ। अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा आइतबार बुटवलमा पहाडीलाई एक लाख १० हजार रूपियाँ पुरस्कार, दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको हो। 

पहाडीलाई लुम्बिनी प्रदेश प्रमुख शेरचन र मानव अधिकारवादी नेता कृष्ण पहाडीले सम्मान गर्नुभएको हो। पुरस्कृत भएपछि बोल्दै पहाडीले यो पुरस्कार सिङ्गो दलित आन्दोलनप्रतिको सम्मान भएको बताउनुभयो।  

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँड, पत्रकार डा. बालकृष्ण चापागाईँ, शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, समाजका वरिष्ठ उपसभापति सुशील बस्नेत, महासचिव रामकृष्ण बराल, पत्रकार महासङ्घ रुपन्देही सभापति रामराज पोखरेल, अधिकारकर्मी रिमा बिसी, रुपन्देही शाखा सभापति खिमप्रसाद भट्टराई (कृष्ण),सचिव कृष्ण पाण्डे लगायतका वक्ताले शान्तिको विकल्प नभएको बताउनुभयो।