• १३ असोज २०८१, आइतबार

क्षमताभन्दा बढी यात्रु बोक्छन् सवारीसाधन

blog

तिलाचन पाण्डे

तम्घास, मङ्सिर २५ गते । गुल्मीका ग्रामीण भेगमा चल्ने सवारीसाधनले क्षमताभन्दा बढी यात्रु र सामान बोक्दासमेत सरोकारवाला निकाय मौन रहेको पाइएको छ।

सदरमुकाम तम्घासदेखि इस्मा गाउँपालिकाको दोहोलीतर्फ जाँदै गरेको लु १ ज ३८५४ नम्बरको जिपभित्र खचाखच यात्रु, छतमा अत्यधिक सामान र यात्रुहरू बोकेर कच्ची सडकमा यात्रा गरेको पाइयो। यो त एउटा उदाहरण मात्रै हो। ग्रामीण क्षेत्रका कच्ची सडकमा यात्रुहरूले जोखिम मोलेरै सवारीको छत र सवारीभित्र खचाचखच बसेर यात्रा गर्ने गरेका छन्। सदरमुकाम तम्घासदेखि पश्चिमी क्षेत्रतर्फ चल्ने जिपहरूले क्षमताभन्दा बढी सामानहरू बोक्ने र यात्रुहरू राखेर कच्ची सडकहरूमा यात्रा गर्दा समेत नियामक निकाय मौन छन्। सदरमुकामबाटै सामान र क्षमताभन्दा बढी यात्रुहरू राखेर जाँदासमेत ट्राफिक प्रहरी र नेपाल प्रहरीले देखेको नदेख्यै गर्नु लज्जास्पद भएको स्थानीयले गुनासो गरेका छन्।

ग्रामीणस्तरका कच्ची सडक त्यसैमा पनि सवारीको अवस्था ठीक नहुनु, क्षमताभन्दा बढी सामान र यात्रु बोक्नाले दुर्घटना बढ्ने गरेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख कृष्णप्रसाद आचार्यले आफूहरूले जाँचलाई कडाइ गरिएको बताउनुभएको छ। कुलपूजा र देवालीका कारण पनि यात्रुहरूको चाप बढेको भन्दै उहाँले यही समयमा दुर्घटना बढी हुनसक्ने भएकाले ग्रामीण सडकहरूमा बढी जाँच गरिएको बताउनुभएको छ। आफूहरूसँग जनशक्ति कम भएकाले पनि सोचे जति काम गर्न नसकिएको उहाँको दाबी छ। 

क्षमताभन्दा बढी यात्रु र मालसामान बोक्ने सवारीधनी र चालकबाट राजस्व मात्र नलिई उनीहरूलाई कक्षा सञ्चालन गर्ने सोचमा रहेको आचार्यले बताउनुभयो। 

क्षमताभन्दा बढी यात्रु र सामान बोक्ने सवारीबाट राजस्व काट्ने, कक्षा सञ्चालन गर्ने र २४ घण्टासम्म सवारीलाई होल्ड गर्ने गरी योजना बनाएको आचार्यको भनाइ छ। यता जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले कुलपूजा तथा देवालीमा सवारी दुर्घटना बढी हुन सक्ने भन्दै प्रहरीले पनि विशेष योजना बनाई निगरानी गरिराखेको बताउनुभयो।