• २० असार २०८१, बिहिबार

धनकुटामा बढ्दै मानव अधिकार उल्लङ्घनका घटना

blog

कबिराज घिमिरे
हिले, मङ्सिर २४ गते ।
धनकुटामा यो वर्ष मानव अधिकार उल्लङ्घनका घटनामा वृद्धि भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनकुटाले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ वार्षिक पूर्व समीक्षा कार्यक्रममा सो प्रतिवेदन सार्वजनिक गरेको हो ।

इन्सेक जिल्ला प्रतिनिधि ईश्वर थापाले सन् २०२२ मा जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ७५ वटा घटना अभिलेख गरेको जानकारी दिनुभयो । इन्सेकको प्रतिवेदन अनुसार अघिल्लो वर्ष जिल्लामा ५७ वटा घटना घटेका थिए । यो वर्ष पाँच जनाको हत्या, छ जनाको कुटपिट, चार जनाको हत्या प्रयास, सात बालिकासहित ११ जना बलात्कृत, एक जनामाथि बलात्कारको प्रयास, दुई जना बाल यौन दुव्र्यवहार र घरेलु हिंसाका ४६ जना पीडित भएको उल्लेख गरिएको छ ।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा सन् २०२२ को जनवरीदेखि मङ्सिर २४ सम्म भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि पूर्व समीक्षा गरिएको हो ।

धनकुटाममा मानवअधिकारको अवस्था र नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ वार्षिक पूर्व समीक्षा शनिबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनकुटा, मानव अधिकार, सामाजिक सचेतन र विकास केन्द्र (हुसाडेक) नेपाल र गैरसरकारी संस्था महासङ्घको संयक्त आयोजनामा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले सबैले आफ्नो जिम्मेवारी पूरा गरेको खण्डमा मानव अधिकारको रक्षा गर्न सहज हुने बताउनुभयो । उहाँले इन्सेकले अभिलेखीकरणले समाजमा मानव अधिकारको अवस्था के कस्तो छ भन्ने चित्रण गरेको बताउनुभयो । कार्यक्रममा पत्रकार, सामाजिक अभियन्ता, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधिलगायतको सहभागिता थियो ।