राजु लामिछाने
रुकुमपूर्व, मङ्सिर २४ गते । रुकुमपूर्वको सबैभन्दा बढी सुत्केरी हुने सिस्ने स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा आधारभूत आवश्यकताका सामानसमेत अभाव छ। राति आएका बिरामी, सुत्केरी हुने र गर्भवतीको उपचार गर्नु परेमा दाउरा बालेर सेवा दिनुपर्ने अवस्था छ।
‘बर्थिङ सेन्टर’मा कार्यरत अनमी राधिका केसीले गर्भवती जाँच र सुत्केरी सेवा दाउरा बालेको उज्यालोकै भरमा दिने गरेको बताउनुभयो। उहाँले दुर्गमका गर्भवती महिलाले भोग्नु परेका समस्या र न्यूनतम आधारभूत सामग्रीको अभावमा बर्थिङ सेन्टरमा उच्च जोखिम मोलेर सुत्केरी गराउँदा निकै सकस हुने गरेको पीडा पोख्नुभयो।
सिस्ने स्वास्थ्य चौकीमा दुईकोठे कच्ची भवनलाई बर्थिङ सेन्टरको रूपमा प्रयोग गरिएको छ। जहाँ न्यूनतम आवश्यकता र पर्याप्त भौतिक संरचनाको अभाव छ। नाम मात्रको बर्थिङ सेन्टर हुँदा पनि रातदिन खटिने कर्मचारीका कारण यहाँ जिल्लाको सबैभन्दा बढी सङ्ख्यामा गर्भवतीहरू सुत्केरी हुन आउने गरेका छन्।
बर्थिङ सेन्टरको भवन भित्र र बाहिर प्लास्टर गरिएको छैन। धुलाम्मे कोठामा सुत्केरी हुनुपर्ने बाध्यता छ। घरको छाना जस्तापाताको भएकाले हिमपात भइरहने उक्त ठाउँमा गर्भवती तथा सुत्केरीलाई बढी चिसो लाग्ने खतरासमेत छ। सुत्केरी महिला र बच्चालाई न्यानो राख्न ओछ्यान वरिपरि आगो बालिदिने गरेको अनमी केसीले बताउनुभयो।
“दाउराको उज्यालोले सुत्केरी सेवा दिन सुरुसुरुमा ज्यादै कठिन लाग्थ्यो,” केसीले भन्नुभयो, “अरू विकल्प भएन, अब त बानीजस्तै भएको छ।” सुत्केरी, कुरुवा र साथमा आएका आफन्तलाई स्वास्थ्य चौकीका इन्चार्ज र आफूले व्यक्तिगत खर्चमा खाना र बासको व्यवस्थापन गर्ने गरेको केसीले बताउनुभयो।
स्वास्थ्य चौकी इन्चार्ज काशिराम ओलीका अनुसार विद्युत् सेवा नहुँदा मार खेप्नुपरेको छ। स्वास्थ्य चौकीमा जडान गरिएको सोलार घाम लागेपछि मात्र दुईरतीन घण्टा चल्ने अवस्थामा छ। रातको समयमा बिरामी जाँच र सुत्केरी सेवाका लागि दाउरा बाल्नु नै उपयुक्त विकल्प बनेको छ।
सिस्ने गाउँपालिकाका स्वास्थ्य शाखा सहसंयोजक पुष्पा ओलीले दुर्गमका स्वास्थ्य चौकी र बर्थिङ सेन्टरले समस्याबीच पनि सेवा दिएको बताउनुभयो। कार्यालयको काम विशेषले सिस्ने स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टर पुग्दा रातमा स्थानीय २१ वर्षीया विष्णु बुढालाई स्टे«चरमा बोकेर ल्याइएको र दाउराकै उज्यालोको सहायताले प्रसूति गराएको उहाँले सुनाउनुभयो। उहाँले आमा र बच्चाको ज्यान जोगाउन स्वास्थ्यकर्मीहरूले न्यूनतम आवश्यकताको अभावमा जोखिममा काम गरिरहेको उल्लेख गर्नुभयो।
स्वास्थ्य चौकी इन्चार्ज ओलीका अनुसार सिस्ने स्वास्थ्य चौकी जिल्लाकै सबैभन्दा बढी सुत्केरी हुने ‘बर्थिङ सेन्टर’ हो। २०७७ साल मङ्सिर २३ मा उद्घाटन भएको ‘बर्थिङ सेन्टरमा सुरुको वर्ष ३६ जनाले र २५ जनाले घरमै सुत्केरी गराएको तथ्याङ्क छ।
आर्थिक वर्ष २०७८/७९ मा ५६ जनाले बर्थिङ सेन्टरमा र १० जनाले घरमै सुत्केरी गराएको ओलीले जनाउनुभयो। चालू आवको साउन महिनादेखि यता २१ जनाले बर्थिङ सेन्टरमा र पाँच जनाले घरमै सुत्केरी गराएका छन्। रुकुमपूर्वमा ग्रामीण स्वास्थ्य सुधार परियोजना सञ्चालन गरिरहेको सर्वाङ्गीण विकास केन्द्रका निर्देशक लीलामणि गौतमले जिल्ला समन्वय समिति र जिल्लाका तीनवटै स्थानीय तहको समन्वयमा मातृशिशु स्वास्थ्य क्षेत्र सुधारको काम गरिहरेको बताउनुभयो। उहाँले सिस्ने स्वास्थ्य चौकीको समस्यालाई मध्यनजर गर्दै बच्चा न्यानो राख्नका लागि बेबी वार्मर मेसिन, बर्थिङ सेन्टरमा आवश्यक स्वास्थ्य उपकरण सेट उपलब्ध गराइएको बताउनुभयो।
सुत्केरी र कुरुवाहरूका लागि सुत्केरी कुरुवा भान्साघरसमेत सञ्चालन गर्ने र भवन तथा ‘बर्थिङ सेन्टर’ को मर्मत चाँडै गरिने बताउनुभयो। ग्रामीण क्षेत्रका महिलाहरूको गर्भजाँचका लागि भिडियो एक्स–रे मेसिनसमेत उपलब्ध गराइएको निर्देशक गौतमले उल्लेख गर्नुभयो।