• १८ असार २०८१, मङ्गलबार

ताप्लेजुङमा मोतियाबिन्दु भएका १०८ जनाको शल्यक्रिया

blog

आँखा शिविरमा सेवा लिन आएका सर्वसाधारण। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, मङ्सिर २३ गते। ताप्लेजुङमा मोतियाबिन्दु भएका एक सय आठ जना बिरामीको आँखाको शल्यक्रिया गरिएको छ। सदरमुकाम फुङ्लिङमा मङ्गलबारदेखि बिहीबारसम्म सञ्चालित तीन दिने शिविरमा उक्त सङ्ख्यामा मोतियाबिन्दु रोगीका आँखाको शल्यक्रिया गरिएको हो। 

शिविर सुरु भएकै दिनदेखि मोतियाबिन्दु भएका रोगीको आँखाको शल्यक्रिया गर्न थालिएको थियो। जिल्लास्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजीमान गुरुङले शिविरमा उपचार सेवा लिन आएकामध्ये मोतियाबिन्दु पहिचान भएका सबैको आँखाको निःशुल्क शल्यक्रिया गरिएको जानकारी दिनुभयो। 

इन्चार्ज गुरुङका अनुसार ९३ जना आँखाका विरामीको मोतियाविन्दुको शल्यक्रिया र १५ जनाको साधारण शल्यक्रिया गरिएको छ। आँखाको शल्यक्रिया गरिएका बिरामीलाई निःशुल्क चस्मासमेत वितरण गरिएको उहाँले जानकारी दिनुभयो। शल्यक्रियाबाहेक बाँकी सेवाग्राहीलाई सामान्य अवस्थामा आँखाको परीक्षण तथा उपचार सेवा प्रदान गरिएको थियो।

मेची आँखा अस्पताल झापाको प्राविधिक सहयोगमा फुङ्लिङ नगरपालिका, सेवा फाउण्डेसन, लायन्स क्लब अफ काठमाडौं, सानिमा बैङ्क लगायतको साझेदारीमा नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङले आँखा शिविर आयोजना गरेको हो। 

शिविरमा मेची आँखा अस्पताल झापाका मेडिकल डाइरेक्टर डा. पुरुषोत्तम जोशीको नेतृत्वमा १३ जनाको चिकित्सक र प्राविधिकसहितको टोली आँखा उपचार तथा परीक्षणमा संलग्न रहेका थिए।