• ८ वैशाख २०८१, शनिबार

फुटपाथ खाली गर्ने अभियान

blog

रङ्गेली समाचारदाता

विराटनगर, मङ्सिर २३ गते । विराटनगर महानगरपालिकाको बजार क्षेत्रमा फुटपाथ मिचेर निर्माण गरिएका संरचना हटाउने अभियान सुरु गरिएको छ। बुधबार  महानगरपालिकाका प्रमुख नागेश कोइरालाले आफ्नै घर अगाडिको फुटपाथको संरचना हटाएर अभियानको सुरु गर्नुभएको हो। 

विराटनगर–९, जलजला रोडस्थित कोइरालाको व्यवसायिक घर छ। भाडामा लगाइएको उक्त घरका पसल सञ्चालकले सटर अगाडि आफू खुसी निर्माण गरेका संरचना बुधबार प्रमुख कोइरालालकै उपस्थितिमा भत्काइएको छ। 

नगर प्रहरीका प्रमुख राजन पौडेलको नेतृत्वमा डोजरसहित पुगेको टोलीले पसल अगाडि निर्माण गरेको सेटब्याकलगायतका अवैध संरचना हटाएको थियो। त्यसबाहेक सहरलाई कुरूप बनाउने होडिङ बोर्डसमेत हटाइएको थियो। 

विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने महानगरको अभियानअन्तर्गत बजार क्षेत्रमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिएको महानगरका प्रमुख कोइरालाले बताउनुभयो। उहाँले महानगरवासीले यही बेला फुटपाथ हटाउने अभियानलाई साथ र सहयोग गरेर व्यवस्थित सहर बनाउने अभियानमा प्रेरणा थप्नुपर्ने बताउनुभयो। महानगरले ३५ दिने सूचना जारी गरेको थियो। व्यापारीले अटेर गरेपछि बल प्रयोग गरेर हटाउन थालिएको छ। “विराटनगरलाई व्यवस्थित बनाउने अभियानमा साथ दिन महानगरवासीलाई आग्रह गर्दछु” प्रमुख कोइरालाले भन्नुभयो। सुन्दर सहर हामी सबैको अभियान हुनपर्छ। 

महानगरले बजार क्षेत्रभित्र सौन्दर्यीकरण, दुर्घटना न्यूनीकरण तथा फुटपाथ नियन्त्रणका लागि भन्दै गत कात्तिक ३ गते सार्वजनिक सूचना जारी गरेको थियो। सार्वजनिक सूचना जारी र पटक–पटक माइकिङ गर्दा पनि व्यापारीले अटेर गरेपछि बाध्य भएर अभियान सञ्चालन गर्नुपरेको दाबी छ। अभियानअन्तर्गत नगरप्रमुख कोइरालाको घरमा सञ्चालित पसलका साथै महानगर कार्यालय अगाडि रहेका पसल, वडा नम्बर ९ को कार्यालय, बुधहाट चोकस्थित बी प्लटमा अवस्थित पसलमा निर्माण गरेका अवैध संरचना हटाइएको छ। अभियानलाई हरेक दिन सञ्चालन गरिने छ।