• ८ वैशाख २०८१, शनिबार

गाउँपालिकाद्वारा स्वास्थ्यकर्मी सम्मानित

blog

गाउँपालिकामा उत्कृष्ट काम गर्नुहुने स्वास्थ्यकर्मीहरु पुरस्कृत हुँदै । तस्बिर सहयोग : डाने बोहरा

राजन राउत 

हुम्ला, मङ्सिर २२ गते । कामको मूल्याङ्कन गर्दै पुरस्कृत भएपछि स्वास्थ्यकर्मीहरुले काम गर्ने हौसला बढेको बताएका छन् । पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा कार्यक्रममा राम्रो काम गरेको भन्दै गाउँपालिकाको स्वास्थ्य शाखाले स्वास्थ्यकर्मीलाई सम्मानित गरेको थियो ।  

खार्पुनाथ गाउँपालिका –५ को खर्पेलगाउँ स्वास्थ्य चौकीका इन्चार्ज हरिभक्त शाहीले काम गर्ने स्वास्थ्यकर्मीलाई सार्वजनिक रूपमा सम्मान गर्ने कार्यले हौसला बढाएको बताउनुभयो । उचित कामको उचित मूल्याङ्कन गर्ने कार्यबाट समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि स्वास्थ्यकर्मीलाई लाग्न प्रेरणा मिलेको बताउनुभयो । 

काम गर्ने र नगर्नेलाई एउटै समूहमा राख्दा सुधार हुन नसक्ने बताउँदै उहाँले सम्मानका कार्यक्रमले काम गर्न प्रेरणा मिल्ने बताउनुभयो । त्यसैगरी वडा नम्बर ३ को राया स्वास्थ्य चौकीका इन्चार्ज वीरसिंह रावलले अझै डटेर काम गर्न प्रेरित बनाएको बताउनुभयो । 

राम्रो काम गर्ने स्वास्थ्यकर्मीको सार्वजनिक कार्यक्रममा गरिने सम्मानले सकारात्मक प्रभाव पार्ने बताउँदै आगामी दिनमा काम गर्न हौसला मिलेको बताउनुभयो । गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बलिराज शाहीले स्वास्थ्य चौकीमा राम्रो काम गर्ने स्वास्थ्यकर्मीलाई प्रोत्साहन मिलोस् भनेर सम्मान गरिएको बताउनुभयो । 

कार्यक्रममा पाँच जना स्वास्थ्यकर्मीलाई सम्मानित गरिएको थियो । सम्मानित स्वास्थ्यकर्मीलाई खादा लगाएर  सम्मानपत्र प्रदान गरिएको थियो । सो गाउँपालिकामा ४४ भन्दा बढी स्वास्थ्यकर्मी कार्यरत हुनुहुन्छ ।