• १२ मंसिर २०८१, बुधबार

सङ्कटमा ह्याचरी उद्योग

blog

वसन्त पराजुली

भरतपुर, मङ्सिर २२ गते । कोभिड–१९ को कहरले थला परेका ह्याचरी उद्योग अहिले बैङ्क ऋणको ब्याज र उत्पादित चल्ला बिक्री नभएपछि थप सङ्कटमा छन् । यही सङ्कटले अहिले ह्याचरी उद्योग बन्द हुन थालेका छन् । 

नेपाल ह्याचरी उद्योग सङ्घका पूर्वअध्यक्ष एवं नेपाल पोल्ट्री व्यवसायी मञ्चका उपाध्यक्ष टीकाराम पोख्रेलले देशैभरि रहेका झन्डै तीन सय ह्याचरी उद्योगमध्ये अहिले सयवटाले मात्रै उत्पादन गरिरहेको जानकारी दिनुभयो । “अहिले धमाधम उद्योग बन्द भइरहेका छन् । चल्ला बिक्री हुन छाडेपछि उद्योग बन्द गर्नुको विकल्प रहेन,” उहाँले  भन्नुभयो  । 

देशैभरका ह्याचरी उद्योगले सामान्य अवस्थामा हप्तामा एक लाख ५० हजार लेयर्स र ३० लाख बोइलर चल्ला उत्पादन गर्थे । त्यो सङ्ख्या अहिले एक तिहाइभन्दा कममा झरेको उहाँले जानकारी दिनुभयो । 

ह्याचरी उद्योगमा परेको प्रभाव सबैभन्दा बढी धेरै कुखुरापालन हुने चितवन बढी छ । चितवनमा अहिलेसम्म ३५ वटा उद्योग बन्द भइसकेका छन् भने अरू ४२ वटा बन्द हुने अवस्थामा रहेको ह्याचरी उद्योग सङ्घ, बागमती प्रदेशका अध्यक्ष परशुराम अधिकारीले जानकारी दिनुभयो । 

“उत्पादित चल्ला पनि बिक्री हुन छाड्यो । बैङ्कको ब्याजले ढाड सेक्न लागेपछि हामी बिस्तारै उद्योग नै बन्द गर्ने अवस्थामा पुग्न थाल्यौँ,” अधिकारीले भन्नुभयो । 

पोख्रेल र अधिकारी दुवै चितवनका ह्याचरी उद्योग सञ्चालक हुनुहुन्छ । चितवनमा ह्याचरीका ठूला साना एक सय उद्योग छन्, जुन बन्द हुँदै गइरहेका बताइन्छ ।

कोभिड–१९ महामारीले थलिएको यो क्षेत्र उठाउन सरकारको उपयुक्त नीति नहुँदा सबैभन्दा धेरै मर्का ह्याचरी उद्योगमा परेको हो । यसका साथै बैङ्कको बढ्दो ब्याजले पनि उद्योगी विस्थापित हुने अवस्थामा पुग्यो । अहिले भारतबाट अनियन्त्रित र अवैध रूपमा आइरहेको मासु र चल्लाका कारण पनि नेपाली ह्याचरी उद्योगलाई प्रभाव परेको उद्योगीको भनाइ छ । 

“अहिले दैनिक काठमाडौँमा छ लाख केजी र काठमाडौँबाहिर पाँच लाख केजी कुखुराको मासु खपत भइरहेको छ । यसरी खपत भएको मासु आधाभन्दा बढी भारतबाट आइरहेको छ,” 

पोख्रेलले थप्नुभयो । सरकारले २०५६ सालदेखि स्थलमार्गबाट हुने पोल्ट्रीजन्य पदार्थको आयात प्रतिबन्ध लगाएको छ तर अवैध बाटोबाट कुखुरा र मासु भित्रिँदा यहाँका व्यवसायीमा समस्या परेको उहाँले बताउनुभयो । 

नेपाली कुखुरापालक किसान विस्थापित हुँदै गएपछि चल्ला उत्पादन पनि घट्दै गएको उद्योगीले बताएका छन् । सामान्य अवस्थामा एउटा चल्लाको मूल्य ५५ रुपियाँदेखि ६० रुपियाँसम्ममा बिक्री गरिन्थ्यो, अहिले यसको मूल्य २० रुपियाँमा बिक्री गर्न पनि गाह्रो छ । जब कि एउटा चल्ला उत्पादन गर्न ३८ रुपियाँ खर्च लाग्ने व्यवसायीको भनाइ छ । 

कुखुरा व्यवसायीसमेत रहनुभएका चितवन उद्योग सङ्घका अध्यक्ष त्रिलोचन कँडेलले उद्योगीको समस्या समाधान गरेर पनि बन्द उद्योग खोल्ने वातवरण तयार गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 

“बढ्दो ब्याजदर, नगद प्रवाहमा परेको असर र मागमा देखिएको सङ्कुचनका कारण उद्योगीमा निराशा पैदा भएको छ । यसको अन्त्य गराउँदै स्वदेशी उद्योगीलाई प्रोत्साहन गर्न छिमेकी देशबाट अवैध रूपमा आयातित मासु नियन्त्रण गर्न जरुरी छ,” उहाँले भन्नुभयो ।