• २० असार २०८१, बिहिबार

ढुङ्गेसाँघुका किसानलाई तोरीको बिउँ वितरण

blog

किसानलाई तोरीको बिउँ वितरण गर्नुहुँदै वडाध्यक्ष चन्द्रकुमार तामाङ। तस्बिर : चन्द्र

चन्द्र पन्दाक

ताप्लेजुङ, मङ्सिर २१ गते। ताप्लेजुङको मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुका किसानलाई तोरीको उन्नत बिउँ वितरण गरिएको छ। तोरी बालीको उत्पादन वृद्धि गर्ने उद्देश्यले किसानलाई उन्नत तोरीको बिउँ वितरण गरिएको हो।

मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुका वडाध्यक्ष चन्द्रकुमार तामाङका अनुसार उन्नत अर्थात् १ नम्बरको तोरीको बिउँ वडाका किसानलाई वितरण गरिएको छ। झापाबाट खरिद गरेर ल्याइएको तोरीको बिउँ किसानलाई निःशुल्क वितरण गरिएको वडाध्यक्ष तामाङले बताउनुभयो। 

उहाँका अनुसार वडाभित्रका दुई सय किसानलाई एक किलोग्रामका दरले तोरीको बिउँ वितरण गरिएको छ।  पछिल्लो समय खाने तेलको मूल्य निरन्तर वृद्धि हुँदै गएको अवस्थालाई दृष्टिगत गरी तोरी खेतीतर्फ किसानलाई प्रोत्साहित गर्न बिउँ वितरण गरिएको वडाध्यक्ष तामाङको भनाइ छ। खाने तेलमा आत्मनिर्भर बन्नेतर्फ किसानलाई उत्प्रेरित गर्ने उद्देश्येसमेत तोरीको बिउँ वितरण गरिएको उहाँले बताउनुभयो। 

यस्तै मौरीपालनको अवधारणासमेत वडा कार्यालयले राखेको उहाँले बताउनुभयो। बढीभन्दा बढी किसानलाई तोरी खेतीतर्फ प्रोत्साहित गर्ने र भविष्यमा व्यावसायिक मौरीपालनका लागि वडाका किसानलाई सहयोग गर्ने सोच वडाले राखेको पनि वडाध्यक्ष तामाङले बताउनुभयो। गाउँमा तोरी खेती विस्तार भएमा व्यावसायिक मौरीपालन गर्न सहज हुने किसानको बुझाइ छ।