• ६ कात्तिक २०८१, मङ्गलबार

सरकार गठनका लागि ठूला दल मिल्नुपर्छ : सांसद थापा

blog

दुर्लभ थापा । फाइल तस्बिर

काठमाडौं, मङ्सिर २१ गते। नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले नयाँ सरकार गठनबारे ठूला दलले मिलेर अघि बढ्नुपर्ने बताउनु भएको छ। भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद थापाले ठूला दलले नयाँ सरकार गठनबारे एक ठाउँमा उभिएर बहस गर्नुपर्ने बताउनुभएको हो। 

राष्ट्रिय सञ्चार केन्द्र, नेपालले बुधबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले संविधानमाथि खेलबाड गर्ने काम हुन नदिन आफू लागिपर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो। संविधानमा संशोधन गर्नुपर्ने विषय भए त्यसलाई दलीय सहमतिको आधारमा अघि बढाउनुपर्ने तर संविधानमाथि खेलबाड गर्ने काम भने कसैले पनि गर्न नहुने सांसद थापाको भनाइ थियो। 

सांसद थापाले ठूला राजनीतिक दलले संविधानमाथि नै खेलबाड गर्ने गल्ती गरेकाले जनताले उनीको विकल्पको खोजी गर्न पुगेको जिकिरसमेत गर्नुभयो। उहाँले जनादेश विपरीतका गतिविधि नगर्न पनि दल सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो। 

सांसद थापाले भन्नुभयो, ‘जनादेश विपरीत जाने दल समाप्त हुनेछन्। हामीले गल्ती गरेकाले जनताले दलहरूको विकल्प खोजेका हुन्। जनताले दिएको म्यान्डेट अनुसार अघि बढौँ। विशेषगरी मूलधारका राजनीतिक दलहरू एक ठाउँमा बसौँ। सरकारको बारेमा छलफल गरौँ, बहस गरौँ। प्रदेशको अधिकारको बारेमा बहस र छलफल गरौँ। अब यो मुलुकको संविधानमा कतै संशोधन गर्नुपर्ने हुनसक्छ। तर, संविधान, देशको मूल कानुनमाथि नै खेलबाड नगर्ने प्रतिबद्धता जाहेर गर्नु पर्दछ जस्तो मलाई लाग्दछ।’

त्यस अवसरमा कांग्रेस सांसद थापाले सबै राजनीतिक दलसँग छलफल गरेर भक्तपुरको समग्र विकासमा आफू लागिपर्ने योजना समेत सार्वजनिक गर्नुभयो। उहाँले भक्तपुरलाई शैक्षिक केन्द्रको रूपमा विकास गर्न ख्वप विश्वविद्यालय स्थापना गर्ने कामलाई आफूले प्राथमिकताका साथ अघि बढाउने दृढतासमेत व्यक्त गर्नुभयो।