• ७ वैशाख २०८१, शुक्रबार

विशेष स्वास्थ्य उपचारका लागि शिविरकै भर

blog

रुकुमकोटमा आयोजित तीन दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा कान र मोतिबिन्दुको शल्यक्रिया गराएका बिरामीहरु । तस्बिर : गोरखापत्र

जयमान बुढा मगर 

रुकुमपूर्व, मङ्सिर २१ गते । विशेषज्ञ डाक्टरद्वारा विशेष स्वास्थ्य उपचारका लागि रुकुमपूर्वक जिल्लावासीलाई शिविरकै भर पर्नु परेको छ । जिल्लाको ठाउँ–ठाउँमा स्वास्थ्य इकाई, स्वास्थ्य चौकी सहित एक प्राथमिक स्वास्थ्य केन्द्र कोल र एक रुकुमपूर्व अस्पताल रुकुमकोट रहेको छ । 

प्राथमिक स्वास्थ्य केन्द्र कोलमा मेडिकल अधिकृत स्तरका एक डाक्टर र रुकुमपूर्व अस्पतालमा एक एमडी र पाँच मेडिकल अधिकृत स्तरका डाक्टर कार्यरत हुनुहुन्छ । रुकुमपूर्व अस्पतालमा विभिन्न क्षेत्रका गरी १० जना विशेषज्ञ डाक्टरको दरबन्दी रहेको छ । तर, हाल एक जना एमडी र पाँच जना मेडिकल अधिकृतले अस्पताल धानिराख्नु भएको रुकुमपूर्व अस्पतालका प्रमुख  सपना विकले जानकारी दिनुभयो । 

“अस्पताल विकास समितिको बैठक बसी पटक–पटक विशेषज्ञ डाक्टरको माग गरिराखेका छौँ” प्रमुख विकले भन्नुभयो –“प्रदेश सरकारले हाम्रो माग सुनुवाइ गरेको छैन ।” विकट क्षेत्र खास गरी सरकारको नजर नलागेको यस जिल्लावासीलाई सामान्य उपचार बाहेक राम्रो स्वास्थ्य सेवा पाउन शिविर कुर्नुपर्ने बाध्यता रहेको सिस्ने गाउँपालिका–५ का मदन शाहले बताउनुभयो । जिल्लामा विशेषज्ञ डाक्टर अभावले यहाँका बासिन्दालाई शिविर कुर्नुपर्ने बाहेक अरू विकल्प नरहेको शाहको भनाइ रहेको छ ।  

आर्थिक अवस्था कमजोर रहेका बिरामीलाई मध्यनजर गरेर आइतबार देखि मङ्गलबार सम्म जिल्ला सदरमुकाम रहेको रुकुमकोटमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन भयो । विशेषज्ञ डाक्टरमार्फत जिल्लावासीको स्वास्थ्य उपचार तथा चेकजाँचका लागि एकएक पाइला सामुदायिक स्वास्थ्य केन्द्र थापाथली र सिस्ने–५ निवासी गोपालबहादुर शाहीको आर्थिक सहयोग, सिस्ने गाउँपालिका र रुकुमपूर्व अस्पतालको समन्वयमा रुकुमकोटमा तीन दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरियो । 

उक्त शिविर आइतबार देखि मङ्गलबार साँझ सम्म चल्यो । शिविरबाट आइतबार पहिलो दिन तीन सय ११, सोमबार दोस्रो दिन पाँच सय ६३ र मङ्गलबार अन्तिम दिन नौ सय १३ गरी तीन दिनको शिविरबाट एक हजार सात सय ८७ जनाको उपचार भएको आयोजकले जनाएको छ । 

शिविरबाट विशेषज्ञ डाक्टर मार्फत मोतियाबिन्दु र कानको शल्यक्रिया, छाला, कलेजो, छाती तथा फोक्सो, स्त्री तथा प्रसूति, दन्त, बाल, नाक, कान, घाँटी, हाडजोर्नी, प्याथोलोजी, भिडियो एक्सरे, सामान्य उपचार, चेकजाँच, औषधि वितरण, चस्मा जाँच तथा वितरण लगायत सेवा प्रदान गरिराखिएको थियो । शिविरमा कान र मोतियाबिन्दुको शल्यक्रिया र भिडियो एक्सरे गर्नेहरू धेरै रहेका थिए ।