• १३ वैशाख २०८१, बिहिबार

आफ्ना नेता तथा कार्यकर्तालाई लगाइएको मुद्दा खारेज गर्न माग

blog

सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाणसँग भेटवार्ता गर्नुहुँदै नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ । तस्बिर : कबिन अधिकारी

काठमाडौं, मङ्सिर २० गते । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना पार्टीका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गरेर तत्काल जेलबाट रिहाइ गर्न सरकार समक्ष माग राखेको छ ।  

मङ्गलबार सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाणसँगको भेटमा नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सो माग राख्नुभएको हो ।

मुलुक निर्वाचनको परिणामसँगै नयाँ सरकार गठनको चरणमा प्रवेश गरिरहेका बेला नेकपाले भने यही सरकारले आफूहरूको माग सम्बोधन गर्नुपर्ने जिकिर गरेको छ ।वर्तमान सरकारले कानुनी जटिलता पनि हल गरेर नेकपाका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गर्ने र जेलबाट रिहाइ गर्ने निर्णय मन्त्रिपरिषदबाट गरिसकेकाले त्यसलाई छिटो कार्यान्वयन गर्न सरकार सक्षम माग राखेको नेकपाका प्रवक्ता प्रकाण्डले बताउनुभयो ।

‘‘सरकार र हामीबीच भएको सहमति छिटोभन्दा छिटो परिणाममा उर्तानुस् र जनतालाई जवाफ दिनुहोस् भनेर हामीले भनेका छौँ । सरकार यो विषयमा इमान्दार छ भन्ने हाम्रो  विश्वास छ । यसलाई पूरा गर्ने सन्दर्भमा फेरि पनि हामी लाग्छौँ र लागिरहेका छौँ भन्ने सरकारको जवाफ छ,’’ गृहमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्नुहुँदै नेकपाका प्रवक्ता प्रकाण्डले भन्नुभयो, ‘‘उहाँहरूले यो  विषयमा पनि धेरै अभ्यास गर्नुभएको छ । आजको वार्ता सकारात्मक छ ।’’


यता, गृहमन्त्री खाणले पनि सो समस्या समाधान गर्न सरकार इमान्दार र प्रतिबद्ध रहेको बताउनुभएको थियो ।

प्रवक्ता प्रकाण्डले थप्दै भन्नुभयो, ‘‘मन्त्रिपरिषद्को बैठकमा नेपाल कम्युनिष्ट पार्टीका नेकपा नेता तथा कार्यकर्तामाथि लगाइएको कतिपय मुद्दा अहिलेको कानुनसँग बाझिने हुनाले त्यसलाई समाधान गर्नका लागि कानुनी रिक्तता हुनाले यो समस्यालाई समाधान गर्ने भनेर सरकारबीच सहमति भएको थियो । यो सहमतिलाई कार्यान्वयन गर्ने भनेर मन्त्रिपरिषद् बैठकले भनिसकेको हुनाले कार्यान्वयनको प्रक्रिया अगाडि बढाउनुस् भन्ने हाम्रो कुरा हो । त्यही विषयमा आज सरकार सकारात्मक ढङ्गले नै प्रस्तुत भएको छ ।’’

केपी ओली नेतृत्वको अघिल्लो सरकारसँग तीन बुँदे सहमति गरेर नेकपा शान्ति प्रक्रियामा आएको थियो । तर, सो सहमति अझै कार्यान्वयनमा नआएको भन्दै सो पार्टीले असन्तुष्टि जनाउँदै आएको छ ।