• ७ वैशाख २०८१, शुक्रबार

चालक अनुमतिपत्रमा अङ्क प्रणाली रोकियो

blog

मकवानपुर समाचारदाता

हेटौँडा, मङ्सिर २० गते । बागमती प्रदेशमा प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा सुरु गर्न लागेको नयाँ अङ्कभार प्रणाली विवादपछि रोकिएको छ ।

मन्त्रालयले आइतबारबाट सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा (ट्रायल)मा नयाँ अङ्कभार प्रणाली अर्थात् ७० प्रतिशत अङ्कभारको नयाँ नियम लागू गर्ने निर्णय गरेको थियो । तर मन्त्रालय र प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबीचको विवादका कारण आइतबारबाट कार्यान्वयन गर्न लागेको नयाँ अङ्कभार प्रणाली रोकिएको हो । 

यातायात मन्त्रालयले नयाँ प्रणाली कार्यान्वयनमा ल्याउन सबै तयारी पूरा गरेकोमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पत्राचार गर्दै तत्काललाई कार्यान्वयन नगर्न भनेको छ । आइतबार काठमाडौँको चाबहिलस्थित यातायात व्यवस्था कार्यालयबाट लाइसेन्सको ट्रायलमा नयाँ प्रणालीको उद्घाटन प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले गर्ने तय भएकोमा मुख्यमन्त्री कार्यालयको निर्देशनपछि रोकिएको छ ।

मन्त्रालयका प्रवक्ता हरिहर पोख्रेलले नयाँ प्रणाली मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट लाइसेन्सको ट्रायलमा नयाँ प्रणालीमा जाने निर्णय हाललाई रोक्न पत्र प्राप्त भएकाले तत्काललाई उक्त प्रणालीमा जाने मन्त्रालयको निर्णय कार्यान्वयन टरेको बताउनुभयो ।

उहाँले अन्य केही प्रदेशले यो प्रणाली सुरु गरेको बताउँदै मन्त्रालयले मोटरसाइकल, स्कुटर र कारमा प्रयोगात्मक परीक्षा (ट्रायल)मा नयाँ अङ्कभार प्रणाली लागू गर्ने र अन्य सवारीसाधनका हकमा पुरानै प्रणाली लागू हुने बताउनुभयो ।

मन्त्रालयले मङ्सिर १४ गते ७० प्रतिशतको अङ्कभारको नयाँ प्रणाली कार्यान्वयन गर्न मातहतका यातायात कार्यालयहरूलाई परिपत्र गरेको थियो । यातायात व्यवस्था कार्यालय, चाबहिलबाट सुरु भएपछि अन्य यातायात व्यवस्था कार्यालयमा एक सातापछि क्रमशः यो प्रणाली लागू गर्ने मन्त्रालयले तयारी गरेको थियो । 

प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री दाहालले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा (ट्रायल)मा नयाँ अङ्कभार प्रणाली हाललाई रोकिएको जानकारी दिनुभयो । मन्त्रालयले यसअघि नै निर्णय गरी कार्यान्वयन गर्ने तयारी गरेको थियो । उहाँले भन्नुभयो, “नयाँ अङ्कभार प्रणाली हाम्रा कारणले रोकिएको होइन, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कारण रोकिएको हो ।”

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यातायात मन्त्रालयलाई नयाँ अङ्कभार प्रणाली लागू गर्ने निर्णय कार्यान्वयन गर्न पर्याप्त छलफल र तयारी नपुगेको उल्लेख गर्दै मन्त्रालयलाई पठाएको पत्रमा नयाँ प्रणालीका बारेमा कर्मचारीलाई प्रशिक्षणसमेत नदिएकाले कार्यान्वयन नगर्न भनेको मन्त्रालयका प्रवक्ता पोख्रेलले बताउनुभयो । 

ट्रायल सेन्टर सञ्चालन गर्दै आएका सञ्चालकहरूको चलखेलका कारण नयाँ प्रणाली कार्यान्वयनमा नल्याइएको अनुमान गरिएको छ । अहिलेको प्रणालीबाट ट्रायल सेन्टर सञ्चालन गर्दै आएका सञ्चालकहरूले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा (ट्रायल) दिन जाने सेवाग्राहीसँग आर्थिक लेनदेन गर्ने गरेको आरोप लाग्दै आएको छ । 

मन्त्रालयले प्रयोगात्मक परीक्षा (ट्रायल) दिन जाने सेवाग्राहीको सामान्य त्रुटि हुँदासमेत अनुत्तीर्ण भई सवारीचालक अनुमतिपत्र (लाइसेन्स)बाट वञ्चित भएको र प्रक्रिया झन्झटिलो भएको भन्दै नयाँ प्रणाली लागू गर्ने निर्णय गरेको थियो । 

सवारीचालक अनुमतिपत्रको ट्रायल परीक्षामा ७० प्रतिशतको अङ्कभार ल्याएर उत्तीर्ण हुने व्यवस्थाले सवारी दुर्घटनाको जोखिम नबढ्ने जिकिर मन्त्रालयको छ । यसअघि लिखित परीक्षामा २० वटा प्रश्न सोधिने गरेकामा नयाँ प्रणाली लागू भएपछि सवारीचालक अनुमतिपत्रको लिखित परीक्षामा २५ वटा प्रश्न सोधिने भएको छ । लिखित परीक्षामा पहिले ५० अङ्क ल्याउने उत्तीर्ण हुने प्रावधान रहेकोमा नयाँ प्रणाली लागू भएपछि ६० अङ्क ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।