• १४ वैशाख २०८१, शुक्रबार

स्वास्थोपचारमा सहुलियत

blog

काठमाडौँ, मङ्सिर २० गते । गोकर्णेश्वर नगरपालिकाले स्वास्थ्य उपचारमा सहुलियत प्रदान गर्ने भएको छ । नेपाल मेडिकल शिक्षण अस्पतालमा उपचार गराउँदा विभिन्न स्वास्थ्य उपचारमा यहाँका स्थायी बासिन्दालाई सहुलियत व्यवस्था गरेको नगरपालिकाले जनाएको हो । 

स्वास्थ्य सहुलियतअन्तर्गत ज्येष्ठ नागरिकलाई एक लाख रुपियाँसम्मको कुल खर्चमा ४० प्रतिशतसम्म अस्पतालले छुट दिनेछ र ३० प्रतिशत नगरपालिकाले बेहोर्नेछ भने बाँकी ३० प्रतिशत सम्बन्धित व्यक्तिले बेहोर्नुपर्नेछ । 

अस्पतालमा हुने परीक्षणमध्ये डेन्टल, इएचएस, कस्मेटिक सर्जरी, प्लास्टिक सर्जरी, आँखासम्बन्धी उपचारमा चस्मा, कन्ट्याक्ट लेन्स जडानजस्ता प्रशोधनीय उपचारमा छुट नहुने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । 

यस्तै पाठेघर र स्तन क्यान्सर परीक्षण र उपचारबापतको शुल्कमा नगरपालिकाले १५ हजार रुपियाँ र आङ खस्ने समस्याको उपचारमा लाग्ने शुल्कमा २५ हजार रुपियाँसम्म नगरपालिकाले सहुलियत रकम उपलब्ध गराउनेछ । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठप्रसाद सापकोटाले मोतिबिन्दुको जाँच, शल्यक्रिया तथा उपचारबापतको शुल्कमा नगरपालिकाले १० हजारसम्म उपलब्ध गराउने जानकारी दिनुभयो । 

उहाँका अनुसार नगरपालिकाको सहुलियत प्राप्त गर्न स्थायी बासिन्दाले उपचार सहुलियका लागि निवेदन, स्थायी बासिन्दा भएको प्रमाण, नगरपालिकाको सिफारिस र ज्येष्ठ नागरिकको उपचारका लागि ज्येष्ठ नागरिक परिचयपत्र हुनुपर्ने व्यवस्था छ । उक्त सहुलियत नगरपालिकाको औषधिबाहेकका उपचार सेवामा मात्र लागू हुनेछ ।