• १३ असोज २०८१, आइतबार

उज्यालो ओखलढुङ्गाको अभियानमा जनप्रतिनिधि

blog

काठमाडौं, मङ्सिर १९ गते । ओखलढुङ्गाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामहरि खतिवडा र प्रदेश सभा सदस्यद्वय प्रदीपकुमार सुनुवार र बाबुराम गौतमले उज्यालो ओखलढुङ्गाको नारालाई सफल बनाउने अभियान सुरु गर्नुभएको छ । 

ओखलढुङ्गा जिल्लाभरिमै विद्युत् प्रसारण लाइन विस्तार गर्न आज विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेर उहाँहरूले जिल्लाको वस्तुगत अवस्थाबारेमा जानकारी गराउनु भएको छ । चुनावी अभियानमा उहाँहरूले उज्यालो ओखलढुङ्गाको नारा दिनुभएको थियो । 

नवनिर्वाचित सांसद एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य खतिवडाले ओखलढुङ्गामा ७५ वटा वडामध्ये नगरपालिकाकै केही वडामा अझै विद्युत् पुराउन नसकेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकामा त अझै केन्द्रीय  विद्युत् लाइन नै पुगेको छैन,  समग्रमा सबै गाउँ पालिकाको केन्द्रमा विद्धुत पुगे पनि धेरै गाउँमा बाँकी छ । तपाईँको नेतृत्वमा एक वर्षभित्र सबै वडामा विद्युतीकरण गरिदिन आग्रह गर्दछु ।’’

भेटमा कार्यकारी प्रमुख घिसिङले एक अर्ब रुपियाँ बोलपत्र आह्वान  भइसकेको र ओखलढुङ्गामा छिटोभन्दा छिटो बत्ती पुराउने प्रतिबद्धता जनाउनु भएको छ ।