• २९ वैशाख २०८१, शनिबार

ब्राजिलविरुद्ध दक्षिण कोरियाको अग्निपरीक्षा

blog

दोहा, मङ्सिर १९ गते । विश्वकप फुटबल प्रतियोगितामा दक्षिण कोरियाविरुद्ध सोमबार प्रिक्वाटरफाइनल खेल्दा ब्राजिल र यो टिमसँग सम्बन्धित सबैका लागि भावनात्मक खेल हुनेछ।

क्यान्सरको उपचारार्थ अस्पतालमा रहनुभएका ब्राजिलियाली महान फुटबलर पेलेको शरीरले प्रतिक्रिया दिन छोडेको रिपोर्ट आएपछि ब्राजिलका लागि सो खेल भावनात्मक बन्ने भएको हो। विश्वकपबाट नै उदाएका पेलेले ब्राजिललाई तीन पटक विश्व च्याम्पियन बनाउनुभएको छ। पेलेलाई विश्वकै सर्वकालीन महान् फुटबलर पनि मानिएको छ। ८२ वर्षीय पेलेलाई अहिले पनि विश्व फुटबलकै एक आदर्श व्यक्तित्वका रूपमा लिइन्छ। त्यसैले स्टेडियम ९७४ मा दक्षिण कोरियाविरुद्ध खेल्दा ब्राजिलका खेलाडीको मनमस्तिष्कमा पक्कै पनि पेले हुनुहुनेछ।

त्यसैले दक्षिण कोरियाविरुद्ध खेल्न नेमार जसरी भए पनि मैदानमा उत्रिने सोचाइमा हुनुहुन्छ। सर्बियाविरुद्धको पहिलो खेलमा नेमारलाई गोलीगाँठोमा चोट लागेपछि नेमारले स्विट्जरल्यान्ड र क्यामरुनविरुद्ध खेल्न सक्नुभएन तर अहिले उहाँ अभ्यासमा फर्किसक्नुभएको छ।

दक्षिण कोरियाविरुद्ध फरवार्ड गाब्रियल जेसस र लेफ्ट ब्याक एलेक्स टेलास भने हुनुहुनेछैन। त्यसैले पनि ब्राजिलका लागि नेमारको पुनरागमन अझ जरुरी भएको छ। यसबाहेक अन्य स्ट्राइकर रिचर्लिसन र भिन्सियस जुनियरको उच्च प्रदर्शन पनि ब्राजिलका लागि आवश्यक हुनेछ।

पोर्चुगललाई अन्तिम खेलमा २–१ ले हराएर नाटकीय रूपमा नकआउट चरणमा पुगेको दक्षिण कोरियाविरुद्ध ब्राजिल जितको दाबेदार नै हो। यस अवस्थामा दक्षिण कोरियाका लागि ब्राजिलविरुद्धको खेल अग्निपरीक्षा हुने निश्चित छ। अझ ब्राजिलले पछिल्ला सात विश्वकपको अन्तिम १६ मा हार बेहोरेको छैन। पछिल्लो पटक सन् १९९० मा अर्जेन्टिनाले प्रिक्वाटरफाइनलमा ब्राजिललाई हराएको थियो।

दक्षिण कोरिया भने सन् २०१० पछि पहिलो पटक नकआउट चरणमा खेल्दैछ। त्यसैले पनि दक्षिण कोरिया दबाबमा हुनेछ। सन् २००२ मा आयोजक बन्दा दक्षिण कोरियाले सेमिफाइनलसम्मको यात्रा गरेको थियो तर सो बेला नकआउटहरूमा दक्षिण कोरियाले निर्धारित समयका एक खेल मात्र (इटालीविरुद्ध) जितेको थियो। दक्षिण कोरिया अन्य खेलमा पेनाल्टी सुटआउटमा अगाडि बढेको थियो। 

पछिल्लो पटक गत जुनमा यी दुई राष्ट्रबीच भिडन्त हुँदा ब्राजिलले दक्षिण कोरियालाई सजिलै ५–१ ले हराएको थियो। तर ब्राजिलका प्रशिक्षक टिटे अहिले सन्तुष्ट हुनुहुन्न। उहाँ भन्नुहुन्छ, “ब्राजिलले क्यामरुन, पोर्चुगलले दक्षिण कोरिया, फ्रान्सले ट्युनिसिया, अर्जेन्टिनाले साउदी अरब, जर्मनीले जापानसँग हारिसकेको छ। मलाई लाग्छ यी नतिजाले धेरै कुरा बताउँछ। त्यसैले मलाई लाग्दैन कुनै पनि खेल सजिलो हुनेछ। हामीले दक्षिण कोरियाविरुद्ध निकै होस पु¥याएर खेल्नुपर्छ।

पोर्चुगलविरुद्ध इन्जुरी समयमा निर्णायक गोल गर्ने ह्वाङ ही चान पनि प्रिक्वाटरफाइनलमै सन्तुष्ट नहुने बता उनुभएको छ। हामी ब्राजिलसँग अन्तिम १६ मा खेल्दै छौँ। हाम्रो लक्ष्य ब्राजिललाई पनि हराएर दक्षिण कोरियाली जनतालाई अझ बढी खुसी दिनु हो। हामी यहाँ खुसी हुन मात्र होइन। हामी यहाँ राम्रो खेलेर आफ्ना समर्थकका लागि खेल जित्न आएका हौँ, ह्वाङ भन्नुहुन्छ।

उच्च मनोबलमा जापान

क्रोसियाका प्रशिक्षक ज्लाट्को डालिचले प्रिक्वाटरफाइनलमा जापानलाई हराउनु छ भने आफ्नो टिमले अनुशासित भएर खेल्नुपर्ने बताउनुभएको छ। समूह ‘एफ’मा क्रोसिया उपविजेता बनेर अगाडि बढेको हो। जापान भने जर्मनी र स्पेनजस्ता महाशक्ति फुटबल राष्ट्रलाई हराएर समूह विजेताका रूपमा क्वाटरफाइनल खेल्दै छ। समूह ‘इ’मा जापानले जर्मनी र स्पेनलाई समान २–१ अन्तरले हराएको नतिजालाई विश्वकपकै स्तब्धकारी नतिजाहरू मानिएको छ। अब क्रोसियालाई हराएर जापान अर्को स्तब्धकारी नतिजा निकाल्ने तयारीमा छ। 

जापान सोमबार क्रोसियालाई हराएर पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा पुग्ने दाउमा छ। विश्वका दुई शीर्ष टिमलाई हराइसकेका कारण हाजिमे मोरियासुको टिम अन्तिम आठमा पुग्न सक्षम पनि देखिएको छ। अहिले जापानका खेलाडीको मनोबल उच्च छ र सो टिम एकजुट भएर मैदानमा उत्रिने गर्दछ। त्यसैले पनि जापानलाई यसपालि खतरनाक टिम मानिएको छ। क्रोसियाविरुद्धको खेलमा रित्सु डोआनमाथि सबैको नजर रहनेछ। उहाँले स्थानापन्न खेलाडीका रूपमा मैदान छिरेर चालू विश्वकपमा जापानका लागि दुई गोल गरिसक्नुभएको छ।

क्रोसियाको सबभन्दा ठूलो शक्ति माटियो काभासिच, मार्सेलो ब्रोजोभिच र लुका मोड्रिच सामेल मिडफिल्ड हो। यद्यपि सो टिमसँग इभान पेरिसिचको रूपमा मात्र भरपर्दा 

स्ट्राइकर रहेको छ। एजेन्सी